एउटै गाउँमा एकैदिन १९ सङ्क्रमण पुष्टि, गाउँ नै सिल

Share this post :

Facebook
Twitter
WhatsApp

वालिङ नगरपालिका–१ धरमपानी गाउँमा बुधबार गरिएको एन्टिजिन परीक्षणमा १९ जनामा सङ्क्रमण पुष्टि भएको छ । गाउँमा गत १४ गते भएको चौरासी पूजामा सहभागी भएकामा लक्षण देखिएपछि नमूना परीक्षण गरेका सबैमा सङ्क्रमण पुष्टि भएको हो ।
वालिङस्थित गह«ौं प्राथमिक अस्पताल र स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर गरेको परीक्षणमा १९ जनामा सङ्क्रमण पुष्टि भएको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । २५ जनाको परीक्षण गर्दा १९ जनामा एकैदिन सङ्क्रमण पुष्टि भएको उनले बताए । ‘बाक्लो बस्ती रहेको गाउँमा एकसाता अघि चौरासी पूजा गरिएको र त्यहाँ सहभागी भएकाहरुमा एकाएक ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने लगायतका समस्या देखिएपछि परीक्षण ग¥यौं’ नगर प्रमुख खाँणले भने, ‘परीक्षणका क्रममा ठूलो संख्यामा सङ्क्रमित रहेको पुष्टि भयो ।’
अस्पतालमा गरिएको नमूना परीक्षणमा सातमा सातै जना सङ्क्रमित देखिएपछि नगरपालिका तथा गह«ौं प्राथमिक अस्पतालका स्वास्थ्यकर्मीसहितको टोलीले गाउँमै पुगेर एन्टिजिन परीक्षण गरेको थियो । ‘सङ्क्रमित सहित परिवारमा पनि सर्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेका छौं’ उनले भने, ‘त्रसित नहुन र नआत्तिन अनुरोधसहित आवश्यक परामर्श दिएका छौं भने सङ्क्रमित तथा परिवारका सदस्यलाई आवश्यक औषधिसमेत वितरण गरेका छौं ।’ गाउँभरी सङ्क्रमित देखिएपछि तत्कालका लागि उक्त गाउँका नागरिकलाई घरबाट बाहिर ननिस्कन र बाहिरबाट पनि त्यस ठाउँमा आवतजावत गर्न नदिने गरी सिल गरिएको उनले बताए ।
विशेषगरी ज्येष्ठ नागरिक तथा दीर्घ रोगीमा समस्या बढी हुन सक्ने भएकाले समस्या पर्नासाथ नगरपालिका वा अस्पतालमा सम्पर्क गर्न उपप्रमुख कल्पना तिवारीले आग्रह गरिन् । उनले वालिङका नागरिकको स्वास्थ्यप्रति नगरपालिका २४ सै घण्टा सजग र सचेत रहेको बताउदै समस्या पर्नासाथ जुनसुकै बेला पनि सम्पर्क गर्न आग्रह गरेकी थिइन् । उक्त गाउँमा ९ वर्षका बालकदेखि ७७ वर्षकी ज्येष्ठ महिलासम्ममा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए । सङ्क्रमण हुनेमा महिला १४ जना र पुरुष ५ जना रहेका छन् । सङ्क्रमित हुनेमा ७७, ६८, ६०, ५९, ५८, ५५, ३६, ३५, २८, २५ २३ २२, २० र १७ वर्षका महिला छन् भने ५८, ३७, ३३, २२ र ९ वर्षका पुरुष रहेका शाखा प्रमुख पाण्डेले बताए । गाउँमै पुगेर आवश्यक औषधी वितरण गरिएको र समस्या परेको खण्डमा जुनसुकै समयमा पनि स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहेकाले गह«ौं प्राथमिक अस्पतालको अक्सिजनसहितको आईसोलेसनमा ल्याएर उपचार गरिने शाखा प्रमुख पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *