सीटीईभीटीले लियो रोकिएको प्रवेश परीक्षा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले शैक्षिक सत्र २०८०–८१ का लागि प्राविधिक शिक्षा अध्ययनका लागि आह्वान गरेको वर्गीकृत निःशुल्क छात्रवृत्ति कार्यक्रमको प्रवेश परीक्षा सञ्चालन गरेको छ । साउन २० गतै नै तय भएको प्रवेश परीक्षा चिकित्सा शिक्षा आयोगबाट चिकित्सा शिक्षा (स्वास्थ्य समूह) तर्फका कार्यक्रमको कोटा निर्धारण हुन नसकेपछि स्थगित भएको थियो ।

आयोगबाट कोटा निर्धारण भएपछि भर्ना प्रक्रिया सुरु गरिएको परिषद्का परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले जानकारी दिए । सीटीईभीटीबाट सम्बन्धन लिएर सञ्चालन हुँदै आएका शिक्षण संस्थामा प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययन गर्न २० हजार १ सय ६६ जनाले आवेदन दिएकामा १८ हजार २ सय ५१ जनाले प्रवेश परीक्षा दिएका थिए । सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयले देशभर विभिन्न ३५ वटा परीक्षा केन्द्र कायम गरी सञ्चालन गरिएको जनायो । परीक्षामा ५ हजार ५१० जनाले निःशुल्क अध्ययन गर्ने अवसर पाउनेछन् ।

यसै कार्यक्रमअन्तर्गत पूर्ण शुल्कीयतर्फका परीक्षामा इन्जिनियरिङ, कृषि र वन, होटल व्यवस्थापनतर्फ भदौ ६ गते र स्वास्थ्यतर्फ भदौ ९ गते शनिबार हुने जानकारी नियन्त्रक आचार्यले दिएका छन् । आगामी दिनमा समेत नेपाल सरकारको स्वीकृत कार्यक्रमअनुसार परिषद्ले प्राविधिक शिक्षाको संस्थागत पहुँच नपुगेका स्थानीय तहका विद्यार्थी र दलित, मुस्लिम, विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरी ६ सय जनालाई आवासीय सुविधासहितको विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको आचार्यले बताएका छन् । उनका अनुसार सो कार्यक्रममा सहभागिताका लागि भदौ ८ गतेसम्म आवेदन दिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *