जल तथा माैसम विज्ञान विभागले आज सार्वजनिक गरेकाे मौसम पूर्वानुमान अनुसार देशका अधिकांश स्थानमा बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। यी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हावाहुरी र असिनासहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै, आज राति पनि देशभरको हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।
विभागका अनुसार देशका पहाड र तराईका धेरै स्थानमा हावाहुरीको पनि जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।


