नेपाल सरकारको “डिजिटल नेपाल” अभियानअन्तर्गत दुर्गम हिमाली क्षेत्रमा इन्टरनेट पहुँच विस्तार गर्ने लक्ष्यअनुसार नेपाल टेलिकमले उच्च हिमाली भूगोलमा 4G सेवा विस्तारलाई तीव्रता दिएको छ ।
यस क्रममा डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१ दुनै क्षेत्रमा समुद्री सतहबाट करिब ३९०० मिटर उचाइमा केही दिनअघि सफलतापूर्वक 4G सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ ।
त्यसैगरी, ताप्लेजुङ जिल्लाको दुर्गम हिमाली बस्ती ओलाङचुङ गोला क्षेत्रमा पनि शनिवारदेखि 4G सेवा सुरु गरिएको छ । समुद्री सतहबाट करिब ३४०० मिटर उचाइमा रहेको उक्त क्षेत्रमा पहिलोपटक उच्च गतिको मोबाइल इन्टरनेट सेवा पुगेपछि स्थानीय बासिन्दा, पर्यटक तथा व्यवसायी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
नेपाल टेलिकमले अब सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय स्थल बाजुरास्थित बडिमालिका मन्दिर क्षेत्रसम्म 4G सेवा विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ । समुद्री सतहबाट करिब ४२०० मिटर उचाइमा रहेको बडिमालिका क्षेत्रमा सेवा विस्तारका लागि आवश्यक प्राविधिक तयारी अघि बढाइएको छ ।
यससँगै विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविर (Everest Base Camp) क्षेत्रमा समेत 4G सेवा विस्तार सम्भावनाबारे अध्ययन कार्य अगाडि बढाइएको नेपाल टेलिकमले जानकारी दिएको छ।
सरकारले डिजिटल विभाजन घटाउँदै देशका सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा पहुँचमा पुर्याउने लक्ष्यअनुसार काम गरिरहेको जनाएको छ। दुर्गम हिमालदेखि सुदूरपश्चिमका विकट बस्तीहरूलाई डिजिटल रूपमा जोड्ने अभियान आगामी दिनमा अझ व्यापक बनाइने सरकारको प्रतिबद्धता छ।