कुकुरसँग खेलिरहेको भिडियो भाइरल भएपछि प्रहरीको स्पष्टीकरण : ‘जिस्किएको होइन, पहिलेदेखिकै घुलमिल’

सामाजिक सञ्जाल टिकटक लगायत विभिन्न प्लेटफर्ममा एक वृद्ध व्यक्तिसँग कालो–सेतो रंगको हस्की जातको कुकुर खेलिरहेको तथा जिस्किरहेको भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय पर्वतले यसबारे स्पष्टीकरण दिएको छ ।

प्रहरीका अनुसार भिडियोमा देखिएका वृद्ध व्यक्ति शारीरिक रूपमा फरक क्षमता भएका व्यक्ति हुन् । उनी नियमित रूपमा कुश्मा बजारस्थित एक रेस्टुरेन्टमा आउने गरेका र उक्त कुकुरसँग पहिलेदेखिनै नजिक भई खेल्ने गरेको खुल्न आएको जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको सूचनामा कुकुरले वृद्ध व्यक्तिलाई जिस्काएको जस्तो देखिए पनि वास्तविकता फरक रहेको उल्लेख गरिएको छ । उक्त भिडियो रेस्टुरेन्ट सञ्चालकले नै खिची सामाजिक सञ्जालमा राखेको र पछि अन्य व्यक्तिहरूले नकारात्मक टिप्पणीसहित पुनः पोस्ट गरेपछि विषय चर्चामा आएको प्रहरीको भनाइ छ ।

सामाजिक सञ्जालमा अपुष्ट तथा भ्रामक सामग्री शेयर गर्दा समाजमा गलत सन्देश फैलिन सक्ने भन्दै प्रहरीले सत्य तथ्य बुझेर मात्र सामग्री प्रचार–प्रसार गर्न आग्रह गरेको छ ।

प्रहरीले “भाइरलभन्दा सत्य ठूलो हुन्छ, अपुष्ट भिडियो शेयर गर्नु अघि सोचौँ” भन्ने सन्देशसमेत दिएको छ ।

प्रहरीले सुस्तमनस्थिति भएका व्यक्तिलाई गरिव भएकै कारण साथ नदिएकाे भन्दै सामाजिक संजालमा प्रहरीकाे विराेध गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *