जेनजी अभियन्ता मिरज ढुंगानाको नेतृत्वमा सञ्चालन भइरहेको ‘गरिखान देउ’ अभियानले पेट्रोलियम पदार्थमा लगाइएको ६ प्रतिशत कर खारेज गर्न माग गर्दै आइतबार चितवनमा विशाल मोटरसाइकल र्याली आयोजना गर्ने भएको छ।
अभियानका अनुसार र्याली भरतपुरस्थित चौबिसकोठीबाट सुरु भई लायन्सचोकमा पुगेर समापन हुनेछ। स्वचालित मूल्य प्रणालीको नाममा भइरहेको निरन्तर इन्धन मूल्यवृद्धि र करको बोझले आम नागरिक मारमा परेको भन्दै अभियानले तत्काल मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेको छ।
अभियानले पेट्रोल र डिजेलमा लगाइएको उच्च करका कारण विद्यार्थी, मजदुर, किसान तथा यातायात व्यवसायी प्रत्यक्ष प्रभावित भएको जनाएको छ। नेपालमा इन्धनको मूल्य छिमेकी देशहरूको तुलनामा अत्यधिक महँगो भएको उल्लेख गर्दै अभियानले यस अवस्थालाई “जनतामाथिको आर्थिक शोषण” को संज्ञा दिएको छ।
त्यस्तै, वैज्ञानिक मूल्य निर्धारण प्रणाली लागू गर्न, वैकल्पिक ऊर्जा सम्बन्धी दीर्घकालीन नीति ल्याउन तथा आम नागरिकलाई राहत दिने कार्यक्रम तत्काल कार्यान्वयन गर्न पनि अभियानले सरकारसँग माग गरेको छ।
अभियानले इन्धन मूल्यवृद्धि र करको विरोधमा आयोजित र्यालीमा सहभागी भई आवाज उठाउन सम्पूर्ण नागरिकलाई आह्वान गरेको छ।