राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह, मन्त्रीहरू तथा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सभापति रवि लामिछानेसमक्ष गुनासो राखेका छन्।
शुक्रबार सभापति लामिछानेले कोसी प्रदेशका रास्वपा सांसदहरूसँग गरेको छलफलमा सांसदहरूले सरकारको कामकारबाही, प्रधानमन्त्री शाहको नेतृत्वशैली र मन्त्रीहरूको भूमिकाबारे चर्को आलोचना गरेका हुन्।
छलफलको सुरुवातमै सभापति लामिछानेले सांसदहरूलाई खुलेर आफ्नो धारणा राख्न आग्रह गरेका थिए। छलफलमा सहभागी एक सांसदका अनुसार लामिछानेले, “संसद्मा सरकारबारे बोल्नुभन्दा पहिले कुनै गुनासो वा समस्या छ भने निर्धक्कसँग मसँग भन्नुस्,” भन्दै ‘फ्लोर ओपन’ गरेका थिए।
त्यसपछि सांसदहरूले खुला रूपमा आफ्ना असन्तुष्टि राखेका थिए। छलफलमा सहभागी सांसदहरूका अनुसार कोसी प्रदेशका सांसदहरूले विशेषगरी तीन विषयमा गुनासो केन्द्रित गरेका छन्।
उनीहरूको पहिलो गुनासो प्रधानमन्त्री शाह र मन्त्रीहरूसँग सम्बन्धित रहेको बताइएको छ। सांसदहरूले जनताका गुनासा र स्थानीय तहका समस्याहरू प्रधानमन्त्री तथा मन्त्रीहरूसम्म प्रभावकारी रूपमा पुर्याउन नसकिएको भन्दै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सांसदहरूले सरकार जनअपेक्षा अनुसार अघि बढ्न नसकेको, जनतासँगको सम्बन्ध कमजोर बन्दै गएको तथा कार्यसम्पादनमा समन्वय अभाव देखिएको समेत बताएका छन्। छलफलमा सरकारको प्रभावकारिता, जनउत्तरदायित्व र पार्टीभित्रको समन्वयका विषयमा समेत गम्भीर बहस भएको जनाइएको छ।