राजनीतिमा महिलाको उपस्थिति विस्तारै बढ्दै गए पनि नेतृत्व तहसम्म पुग्ने महिलाको संख्या अझै सीमित छ । यही सीमित घेरालाई तोड्दै पुरुष वर्चस्व रहेको नेपाली राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाएकी नेतृ हुन् पदमा अर्याल ।
संघर्ष, आत्मविश्वास र निरन्तरताको उदाहरण बनेकी अर्याल अहिले नेकपा एमालेकी समानुपातिक सांसदकोरुपमा चर्चामा छन् ।
उनको राजनीतिक यात्रा त्यतिबेला थप चर्चित बन्यो, जब उनी नेकपा एमालेको जिल्ला अध्यक्ष बनिन् । त्यो पनि जिल्लाकै पहिलो महिला अध्यक्षका रूपमा ।
परम्परागत सोच र पुरुष वर्चस्व रहेको राजनीतिमा यस्तो उपलब्धि हाँसिल गर्नु आफैंमा ठूलो सफलता थियो ।
राजनीतिमा सक्रिय रहँदै उनले विभिन्न चुनौतीहरूको सामना गरिन् । संगठनभित्रको प्रतिस्पर्धा, सामाजिक सोच र अवसरको असमान पहुँचकाबीच उनले आफूलाई स्थापित गरिन् । उनले देखाएको निरन्तरता र आत्मविश्वासले उनलाई नेतृत्वसम्म पुयायो ।
संघर्ष उनका लागि नयाँ कुरा होइन । पारिवारिक जिम्मेवारी, सामाजिक चुनौती र राजनीतिक प्रतिस्पर्धाकाबीच उनले आफ्नो बाटो आफैं बनाइन् ।
महिलाले नेतृत्व गर्न सक्दैनन् भन्ने पुरानो सोचलाई उनले आफ्नो कामले गलत सावित गरिन् । कृषि, व्यावसायबाट राजनीतिमा पहिचान बनाएकी अर्यालको यात्रा धेरै महिलाका लागि प्रेरणाको स्रोत बनेको छ । उनले देखाएको साहस, लगनशीलता र प्रतिबद्धताले आगामी पुस्ताका महिलालाई पनि अगाडि बढ्न हौसला दिएको छ । आज उनी केवल एक राजनीतिक व्यक्तित्व मात्र होइनन्, संघर्ष र सफलताको उदाहरण हुन् ।
पद्मा नेकपा एमालेको खस आर्य महिला कोटाबाट पहिलो नम्बरबाट समानुपातिक सांसदमा निर्वाचित भएकी हुन् । उनी प्रत्यक्ष निर्वाचन नलडि समानुपातिक कोटामा बसेको भन्दै ठूलो आलोचना खेपिन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वासको पात्र बनेकी अर्याल पूर्वमन्त्री हुन् । स्वास्थ्य राज्यमन्त्री हुँदै भूमि, व्यवस्था तथा सहकारी मन्त्री बनेकी उनी चुच्चे नक्साका कारण थप चर्चामा आइन् । यसो त मन्त्री हुँदा उनले गिरीबन्धु चिया लगायतका आरोप अहिले पनि खेप्नुपरेको छ । अव पुन पाँच वर्ष संसदमा उनी प्रतिपक्षमा बसेर जनताका आवाज बोल्नेछिन् । यसअघि उनी २०६४ मा पनि समानुपातिक कोटाबाटै सांसद भइसकेकी छन् ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार एवं सरकारका वाहालवाला उप–प्रधानमन्त्री गोपालमान श्रेष्ठसंग चुनावी मैदानमा उत्रिइन । वाहालवाला उप–प्रधानमन्त्रीसँग उम्मेदवार बनेका कारण पनि अर्याल चर्चामा आइन् । बाम गठबन्धन (एमाले–माओवादी)को साझा उम्मेदवार अर्याल गोपालमानलाई हराउँदै विजयी भइन् । अर्याल वालिङकै बासिन्दा हुन् । २०५६ सालमा नेकपा मालेबाट चुनावी मैदानमा होमिएकी अर्यालका प्रतिद्धन्द्धि श्रेष्ठ नै थिए । श्रेष्ठले अर्याललाई पराजित गरेका थिए ।
२०७४ मा एमाले र माओवादी केन्द्रको गठबन्धन उनको लागि ठूलो आधार बन्यो । स्याङजामा बामपन्थीहरुलाई चुनाव जित्न मुस्किल रहने भएपनि गठबन्धनका कारण अर्याल संसद भवन पुगिन । वाहालवाला उप–प्रधानमन्त्रीसंग चुनाव लड्नु उनको लागि ठूलो चुनौती थियो । आफू भन्दा अग्रज झन् देशकै उपप्रधानमन्त्रीसंग चुनाव लड्नु चानचुने कुरा बनेन । उनी संघर्ष गर्दै हिडिन । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पुन उम्मेदवार बनिन् ।
त्यसअघि मन्त्रि बनिसकेकी अर्यालयको जिल्लामा अपेक्षासँगै असन्तुष्टि बढ्दै गएको थियो । करिव दुई तिहाईको सरकार फुट्नुु, केपी शर्मा ओलीले पार्टी फुटाउनु, संसद विघटन गर्नुु जस्ता कारणले पनि उनलाई प्रत्यक्ष असर गर्यो । पार्टी अध्यक्षका हरेक कमीकमजोरीलाई साथ दिएको भन्दै उनीप्रति असन्तुष्टि बढ्यो । अन्तत : निर्वाचन हारिन् । तत्कालीन काँग्रेस उपसभापति धनराज गुरुङ विजयी भए । त्यसपछि उनको जिल्ला कमजोर हुँदै गयो । गत भदौ २३ र २४ को आन्दोलनले पुनः देश निर्वाचनमा धकेल्यो । जिल्लाबाट उनी उम्मेदवार हुने चर्चा भए पनि फिल्डमा आँट गरिनन् । सक्षम, क्षमतावान् महिला जो प्रत्यक्ष चुनाव लड्ने हैसियत राख्छ उनै समानुपातिक कोटामा बसेको भन्दै उनको चौतर्फी विरोध भयाे ।
२०२५ साल पौष १८ गते साविक थुमपोखरा गाविसको तमादिमा जन्मिएकी अर्यालले ३०३६ सालदेखी नै नेकपा (माले)को विद्यार्थी राजनितिक यात्रा तय गरेकी थिइन । अनेरास्ववियुको साधारण सदस्य लिएर राजनितिमा होमिएकी उनी ०४५ सालमा अनेरास्ववियुको प्रारम्भीक कमिटिमा रहदै जिल्ला र अञ्चल कमिटिको विभिन्न पदमा रहेर विद्यार्थी आन्दोलनमा भुमिका निभाइन । २०४५ साल देखी पार्टीको पुरै जिम्मेवारी सम्हाल्दै आएकी अर्याल २०४६ सालको जनआन्दोलनमा समेत जेलजिवन बिताएको बताउँछिन् । २०६२/६३ को जनआन्दोलनमा समेत लामोसमय हिरासतमा विताएको क्षण उनको मानसपटलमा ताजै छ ।
अर्याल २०६९ मा एमालेको जिल्ला अध्यक्ष भइन् । प्रतिद्धन्द्धी पुण्यप्रसाद भुषाललाई पराजय गराउदै उनी निर्वाचित भएकी थिइन । उनी जिल्लाकै पहिलो महिला अध्यक्ष भइन । यध्यापी उनी देशभरी मै एमालेको दोस्रो महिला अध्यक्ष बन्न सफल भइन् । ०७१ सालमा एमालेको केन्द्रिय सदस्यसमेत भएकी उनी अहिले पार्टीको केन्द्रिय सचिव हुन् । यसअघिको महाधिवेशनबाट पनि केन्द्रिय सचिवमै विजयी बनेकी अयालले विभिन्न देशको भ्रमण गर्ने अवसर पाएकी छन ।
‘महिला र पिछडिएको वर्गलाई माथी उठाउने नै मेरो लक्ष्य हो’ उनले दोहोयाइन, ‘पुरुष सरह काम गर्न महिलाले पनि सक्छन मात्र अवसर पाउनुपर्छ भन्ने राम्रो उदाहरण दिन खोजेकी छु ।’ उनले आफ्नो इतिहास कोट्याउदै जनताको दुख नै आफ्नो दुख ठानी काम गर्ने प्रतिबद्धता जनाइन् । घरपरिवारबाट संघर्ष गरेर राजनितिमा होमिएकी पदमा महिला भएकै कारण आफ्नै पार्टीभित्र झन् ठूलो संघर्ष गर्नुपरेको सुनाउँछिन् । उनको अध्ययन भने व्याचलर हो । घरायसी समस्याका कारण माथिल्लोस्तरमा पुग्न नसकेको पिडा त छदै थियो अध्ययनलाई पनि क्रमश लान नसकेको उनी बताउँछिन । उनका दुई छोराछोरी छन । उनका राजनितिक गुरु नै श्रीमान लक्ष्मीपति पौडेल हुन् । श्रीमान कृषि पेशामा क्रियाशील छन् । सानै उमेरदेखी दुख र संघर्ष गर्नुपरेको बताउने उनले अन्यायको विरुद्धमा आवाज उठाउन र समाजसेवा गर्न रुची भएको बताइन ।
पद्मा संसदको सशक्त आवाज हो । २०१५ सालपछि पहिलोपटक झण्डै दुई तिहाईको सरकार छ । रास्वपाले झण्डै दुई तिहाई मत प्राप्त गर्नु सामान्य नरहेको उनको धारण छ । ‘यो रास्वपाको अभूतपूर्ण जनमत हो’ उनी भन्छिन, ‘रास्वपाप्रति जनताको जुन विश्वास छ । अपेक्षा छ । हामी शुभकामना दिन्छौ ।’ उनले समृद्धि, रोजगारी, गरिबी उन्मूलन, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, खानेपानी, सिँचाई, विद्युत लगायतमा जनताको जनअपेक्षा पुरा गर्न शुभकामना दिदै नयाँ शक्तिकोरुपमा जनताले गरेको विश्वास नलत्याउन सुझाइन् । गुण र दोषको आधारमा आफू प्रस्तुत रहने बताउदै उनले सरकारको समिक्षा गर्ने बेला भइनसकेको बताइन् ।
‘सांसदको भूमिका भनेको कानून निर्माण गर्नु हो’ उनी भन्छिन, ‘मेरो भूमिका मलाई थाहा छ । हामीसँग सत्ता र प्रतिपक्ष हुँदाका अनुभव छन् । मुलुककको च्यालेन्ज, जनताका अपेक्षा थाहा नै छ । राजनीतिक शक्ति सन्तुलनको हिसावले प्रतिपक्ष दलको हैसियतले हाम्रो भूमिका रहने छ । प्रतिपक्षमा हुँदैमा विरोधमा नै हुनुपर्छ भन्ने होइन गुण र दोषको आधारमा प्रस्तुत हुनेछौ । राष्ट्रपक्ष, जनपक्ष कानुन बनोस, जनताको दैनिक डेलीभरीसँग जोडिएका कुरामा साथ रहनेछ । यस्ता कानुन निर्मणमा सहयोगी भूमिका हुन्छ नै । कुनै न कुनै हिसावले राष्ट्र र जनतालाई नोक्सान हुने भएमा संशोधन गर्दै जनपक्षीय बनाएर अघि बढ्छौ ।’
विकास र जनताको पक्षमा साथ र सहयोग रहने बताउदै उनले सरकारभन्दा अघि बढेर सहयोग हुने बताइन् । उनका अनुसार सरकारलाई सही काममा केन्द्रित हुन ध्यानाकर्षण गर्नेछौ । गतलमा खवरदारी गर्ने र रोक्ने कुरा हुन्छ ।
नेकपा एमाले अहिले तेस्रो हैसियतमा छ । पार्टीले सोजे जस्तो नतिजा प्राप्त गर्न सकेन् । पार्टीसँग धक्का महशुस गरेको अनुभव नेताले सुनाएका छन् । ‘पार्टीको नजिताप्रति गम्भिर रहेर के कारण यो परिस्थितिमा आइयो भन्ने समिक्षा गछौ’ अर्याल थप्छिन्, ‘हामीले गर्ने काम, तौतरिका, एजेण्डाले कति प्रभावित बने या बनेनन् । विगततर्फ फर्किएर समिक्षा गर्न जरुरी छ । आन्तरिक समस्या र बाहिय प्रभाव के रहे भनेर विश्लेषण गछौ । कमीकमजोरीलाई अध्ययन गर्दै थप सुद्धित गर्नेतर्फ अघि बढ्छौ ।’ एमालेले संसदीय दलको नेता पूर्वमाओवादी रामबहादुर थापा बनेका छन् । संसदमा प्रधानमन्त्रीकाे भाषण माग गर्दै उनी यतिबेला विराेधमा उत्रिएकी छन् ।
यसो त, अर्याललाई स्याङ्जाको विकास चिन्ता पनि उत्तिकै छ । ‘स्याङ्जासँग जोडिएर हेर्दा सिदार्थ राजमार्ग विस्तार नै मेरो प्राथमिकता हो’ उनले थपिन, आव ७७–८८ को बजेटमा ७ अर्व रकम छुटाए । टेण्डर नहुदै सरकार चेन्ज भयो बजेट रकमान्तर भयो । यसको विरोधमा आवाज उठाए । जेन्जीअघिको सरकारले आउँदै गरेको आवमा पनि यो सडकलाई अगाडि बढाउने गरी सम्बोधन भएको छ । यसलाई कार्यान्वयन गर्ने गरी तयारी छ । सडक विभागले सम्झौतापत्र तयार गर्दैछ । स्वदेशी र विदेशी लगानीबाट बन्ने भएकाले दुइपक्षीय सम्झौता हो ।’ यसलाई निस्कर्षमा पुयाउने गरी अगाडि बढाउन आफ्नो भूमिका रहने उनी सुनाउँछिन् ।
त्यो बाहेक जिल्लाका महत्वपूर्ण सडक, अधुरा योजना सम्पन्न गराउन, रणनीतिक सडकलाई सम्बोधन गर्ने, उत्पादनमुखी कुरामा स्थानीय सरकारलाई कृयाशिल गराउने र संघीय सरकारलाई प्रेरित गर्ने, रोजगार बढाउने खालका सिचाँई, खानेपानी, स्वास्थ्य शिक्षाका विषयमा ध्यान जाने उनी बताउँछिन् ।


