बजेट सार्वजनिक हुनुअघि सूचना चुहावट भई भएको भनिएको BYD गाडी आयातसम्बन्धी कर छली प्रकरणमा सरकारले कडा कदम चालेको छ । करिब २५० करोड रुपैयाँ बराबरको राजस्व छली भएको आशंकासँग जोडिएको घटनामा प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीबाट मुक्त गरिएको स्रोतले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा भन्सार प्रशासनभित्रबाट संवेदनशील सूचना चुहावट भएको तथा त्यसका आधारमा कर दर परिवर्तनअघि ठूलो संख्यामा सवारीसाधन भित्र्याइएको आशंका गरिएको छ । यस प्रकरणमा आयात गरिएका ७७४ वटा BYD गाडी सशस्त्र प्रहरी बलको नियन्त्रणमा राखिएको बताइएको छ ।
सरकारले घटनाको गम्भीरता मध्यनजर गर्दै सम्बन्धित कर्मचारीलाई तत्काल जिम्मेवारीबाट हटाएर थप छानबिन अघि बढाएको जनाएको छ । अन्य संलग्न व्यक्ति तथा निकायको भूमिकाबारे समेत अनुसन्धान जारी रहेको छ ।
राजस्व प्रशासन र भन्सार प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाएको यस घटनालाई हालसम्मकै ठूलो कर छली प्रकरणमध्ये एकका रूपमा हेरिएको छ । अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा दोषी देखिने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने सरकारी स्रोतले जनाएको छ ।
यस प्रकरणले बजेट तथा कर नीतिसम्बन्धी गोप्य सूचनाको सुरक्षा, भन्सार प्रशासनको पारदर्शिता र राजस्व चुहावट नियन्त्रणका विषयमा व्यापक बहस सिर्जना गरेको छ ।



One Response
https://pesnimp3.net