७८ राष्ट्रलाई उछिन्दै विश्वमञ्चमा चम्किइन् प्रिया, विश्व योगासनमा तीन रजत पदक

भारतको अहमदाबादमा आयोजित प्रथम विश्व योगासन प्रतियोगिता–२०२६ मा नेपाली खेलाडी प्रिया घर्ती क्षेत्रीले उत्कृष्ट प्रदर्शन गर्दै तीन विधामा रजत पदक जित्न सफल भएकी छन् । विश्वका ७८ राष्ट्रका खेलाडीबीच भएको प्रतिस्पर्धामा प्रियाले आफ्नो असाधारण क्षमता प्रस्तुत गर्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाएकी हुन् ।

२१ जेठदेखि २६ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा प्रियाले Rhythmic Pair, Traditional Group Challenge तथा Individual Backbend विधामा रजत पदक जितेकी हुन् । तीव्र प्रतिस्पर्धाबीच उनले व्यक्तिगततर्फ दोस्रो स्थान हाँसिल गरिन् ।

प्रतियोगितामा सहभागी राष्ट्रहरूमध्ये नेपाल समग्रमा पाँचौँ स्थानमा रहन सफल भएको थियो भने भारत पहिलो स्थानमा रहयाे । नेपालबाट ४४ जना खेलाडी तथा प्रतिनिधि सहभागी भएका थिए । उनीहरूमध्ये प्रियाको प्रदर्शन विशेष आकर्षणको केन्द्र बनेको थियो ।

प्रिया स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मा रहेकाेअमाेर सेवा (बालगृह)काे संरक्षणमा हुर्किदै आएकी छन् । विश्व प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेर स्वदेश फर्किएपछि उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । विभिन्न संघसंस्था, शुभेच्छुक तथा स्थानीयवासीको उपस्थितिमा स्वागत गरिएकी प्रियालाई त्यसपछि सम्मानसहित फेदीखोला लगिएको थियो ।

प्रियाको सफलताप्रति खुसी व्यक्त गर्दै अमोर सेवा नेपालकी अध्यक्ष कमला पराजुलीले प्रतिभा, लगनशीलता र इच्छाशक्तिको अगाडि कुनै पनि बाधा ठूलो नहुने बताइन् । संस्था संचालन गर्नुअघि आइपरेका बाधा र सुरूवातीकाे समय सम्झदै भन्छिन, ‘असयाेग गर्नेहरूलाई छाेराछाेरीले यसरी नै पुरस्कार दिउन भन्ने लाग्छ ।’ अमाेर सेवा स्याङ्जाकाे एक मात्र बालगृह हाे ।

पराजुलीले आर्थिक तथा सामाजिक चुनौतीका बीच पनि प्रियाले हासिल गरेको सफलता सम्पूर्ण नेपालीका लागि प्रेरणादायी बनेको उल्लेख गरिन् ।

विश्वस्तरको प्रतियोगितामा तीन रजत पदक जित्दै प्रियाले केवल आफ्नो व्यक्तिगत सफलता मात्र हासिल गरेकी छैनन्, उनले नेपालको नाम अन्तर्राष्ट्रिय योगासन क्षेत्रमा थप उचाइमा पुर्‍याएकी छन् । उनको यो उपलब्धिलाई स्याङ्जा मात्र होइन, समग्र राष्ट्रकै गौरवका रूपमा हेरिएको छ ।
विश्वमञ्चमा नेपाली झण्डा फहराउँदै तीन रजत पदक जितेकी प्रिया घर्ती क्षेत्रीको सफलता नेपाली खेलकुद इतिहासमा प्रेरणादायी अध्यायका रूपमा स्मरणीय रहने विश्वास गरिएको बताउँछन् समाजसेवी प्रकाश श्रेष्ठ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *