बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने

सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको छ । बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडकहरु सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यो सकिए लगत्तै पक्की सडक र पुलको निर्माण गर्नेछ ।

प्रधानन्त्री वालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुसँग भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विभिन्न विषयगत आठ वटा कार्यदल निर्माण गरी सडक र पुल निर्माणलाई तीव्रता दिइरहेको बताए । साथै, उनले यो काममा दोहोरोपना हुन नदिइ आफूहरुलाई प्रत्यक्ष रुपमा सघाउन स्थानीय जनप्रतिनिधिहरुसँग आग्रह समेत गरे ।

यस्तै, उनले प्रधानमन्त्री शाहसँग छलफल गर्न आएकै बेलामा काठमाडौँमै रहेर आफ्नो मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखहरुसँग प्रत्यक्ष छलफलमा जोडिएर आ–आफ्नो प्रभावित क्षेत्रमा क्षतिग्रस्त पूर्वाधारहरुको विवरण दिन, योजना बनाउन, निर्माणमा समन्वय गर्न र त्यसको फलोअप गर्न स्थानीय जनप्रतिनिधिहरुसँग आग्रह गरेेका छन् ।

उनका अनुसार प्रभावित क्षेत्रमा आगामी मंसिरसम्म खानेपानी प्रणाली पुनःस्थापना गर्ने गरी सरकारले काम गरिरहेको छ । त्यस्तै प्रभावित क्षेत्रमा स्वास्थ्य, शिक्षालगायतका पूर्वाधार निर्माणमा पनि सरकारले काम गरिरहेको उल्लेख गरे ।

छलफलमा सहभागी प्रभावित क्षेत्र नुवाकोटका प्रतिनिधिसभा सदस्य समेत रहेका सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले प्रभावित क्षेत्रमा पुगेर गैर-सरकारी संस्थाहरूले बाढी प्रभावितहरुलाई घर बनाइदिने, ज्येष्ठ नागरिक तथा बालबालिकालाई संरक्षण गरिदिने जस्ता आश्वासन दिँदै हिँडिरहेको भन्दै उनीहरुले राष्ट्रिय विपद् जोखम न्यूनीकरण तथा व्यवस्थापनसँगको समन्वयमा मात्रै काम गर्नुपर्ने बताए । साथै, उनले जनप्रतिनिधिहरुले प्रभावित क्षेत्रका कुनै पनि पीडित नछुट्ने गरी तथ्यांक संकलन गरी सरकारलाई समयमै उपलब्ध गराउनुपर्ने सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *