रास्वपा महाधिवेशन लक्षित गर्दै चितवनमा सुरक्षा व्यवस्था कडा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार हुने महाधिवेशनलाई लक्षित गर्दै चितवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला सुरक्षा समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा आवश्यक परे नेपाली सेनासमेत परिचालन गर्ने गरी विशेष सुरक्षा योजना तयार गरेको जनाएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार महाधिवेशनमा सहभागी हुने हजारौं कार्यकर्ता, विशिष्ट अतिथि तथा शीर्ष नेताहरूको सुरक्षालाई ध्यानमा राखेर चारवटै सुरक्षा निकायबीच संयुक्त सुरक्षा रणनीति बनाइएको हो। पहिलो सुरक्षा घेरामा नेपाल प्रहरी रहनेछ भने आवश्यक अवस्था सिर्जना भएमा सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गर्न सकिने तयारी गरिएको छ।

सुरक्षा निकायले महाधिवेशनमा रास्वपाको अनुमानभन्दा बढी, १५ हजारभन्दा धेरै सहभागी उपस्थित हुन सक्ने आँकलन गरेको छ। त्यसैले सुरक्षा व्यवस्थापनसँगै ट्राफिक व्यवस्थापनलाई पनि प्रमुख चुनौतीका रूपमा हेरिएको छ।

विशेषगरी नारायणी पुल क्षेत्रलाई संवेदनशील क्षेत्रका रूपमा पहिचान गर्दै सुरक्षा निगरानी बढाइएको छ। सम्भावित भीड व्यवस्थापनका लागि विभिन्न स्थानमा सवारी साधन डाइभर्ट गर्ने योजना समेत बनाइएको सुरक्षा समितिले जनाएको छ।

महाधिवेशनमा सहभागी हुन कानुनमन्त्री सोविता गौतम, शिक्षामन्त्री सस्मित पोखरेल र कृषिमन्त्री गीता चौधरी चितवन पुगिसकेका छन्। अन्य मन्त्रीहरू पनि चितवन आउने क्रममा रहेका छन्।

यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको सहभागितालाई लिएर पनि चासो बढेको छ। सुरक्षा निकायले प्रधानमन्त्री आइतबार चितवन आउने जानकारी पाए पनि उनको आगमन समय र बसाइबारेको अन्तिम विवरण भने सार्वजनिक गरिएको छैन।

रास्वपाको शक्ति प्रदर्शनका रूपमा हेरिएको महाधिवेशनअघि चितवन उच्च सुरक्षा निगरानीमा पुगेको छ। हजारौं समर्थकको उपस्थितिसँगै जिल्लाको राजनीतिक माहोल समेत तातेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *