राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहले सरकार निर्धारित लक्ष्य हासिल नभएसम्म नरोकिने बताएका छन्।
चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शाहले सरकारको कामकारबाही तीव्र गतिमा अघि बढिरहेको दाबी गरे।
“पार्टीप्रति धेरैले चिन्ता व्यक्त गर्नुभएको छ। तर हाम्रो गाडी लोकल सडकमा होइन, एक्सप्रेस वेमा कुदिरहेको छ। गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ,” उनले भने।
शाहले सरकारका गतिविधि पूर्ण रूपमा नियन्त्रणमा रहेको र आफूहरू कानुन तथा नियमको दायराभित्र रहेर काम गरिरहेको पनि बताए।
“मिडिया र पत्रपत्रिका हेर्दा अनियन्त्रितजस्तो देखिएको होला। तर हामी नियमभन्दा बाहिर छैनौं र जाने पनि छैनौं। सबै कुरा नियन्त्रणमै छ,” उनले भने ।
यसअघि सोही कार्यक्रममा बोल्दै नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले सरकारका प्रारम्भिक गतिविधिमा काम गर्ने उत्साह देखिए पनि सन्तुलन आवश्यक रहेको टिप्पणी गरेका थिए।
“गाडीभित्र एक्सिलेटरसँगै ब्रेक पनि हुन्छ। दुवैको सन्तुलन मिलेन भने दुर्घटना हुन सक्छ,” ज्ञवालीले भनेका थिए।
ज्ञवालीको उक्त टिप्पणीपछि शाहले ‘एक्सप्रेस वे’को उदाहरण दिँदै सरकार आफ्नो लक्ष्यतर्फ तीव्र गतिमा अघि बढिरहेको बताएका हुन्।