सडक सुरक्षाको जानकारी अब QR Code बाट

सवारी साधनमा यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सडक सुरक्षासम्बन्धी आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले स्याङ्जा प्रहरीले क्यूआर काेड (QR Code) सेवा सञ्चालनमा ल्याएको छ ।

वडा प्रहरी कार्यालय वालिङद्वारा गण्डकी प्रदेशको मुख्य प्रवेशद्वारको रुपमा रहेको गल्याङ नगरपालिका-१ राम्दीस्थित नेपाल प्रहरीको चेक पोईन्टमा पर्यटकलाई safety, security र facilitation गर्ने उदेश्यले QR Code आधारित सूचना सेवा सञ्चालनमा ल्याएको हाे । याे सेवा विहीबारदेखि संचालनमा ल्याइएकाे वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायव निरीक्षक हरिप्रसाद काफ्लेले जानकारी दिए ।

विशेषगरी आन्तरिक तथा बाह्य पर्यटक र सवारी चालकलाई लक्षित गर्दै तयार गरिएको उक्त QR Code स्क्यान गरेपछि यात्रासँग सम्बन्धित महत्वपूर्ण जानकारी अडियो तथा टेक्स्ट अंग्रेजी र नेपाली दुवै माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको उनले बताए ।

QR Code मार्फत प्रमुख पर्यटकीय गन्तव्यको दूरी र अवस्थिति, सम्बन्धित सडकखण्डको अवस्था, बढी दुर्घटना हुने स्थानको विवरण, ट्राफिक नियम, राजमार्ग आसपास रहेका प्रहरी कार्यालयको सम्पर्क नम्बर, अस्पताल तथा स्वास्थ्य संस्थाको जानकारी, पेट्रोल पम्प, विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन, सार्वजनिक शौचालय, बजार क्षेत्र, होटल–रेष्टुरेन्ट तथा विभिन्न पर्यटकीय स्थलसम्बन्धी आवश्यक जानकारी समावेश गरिएको छ ।

प्रहरीका अनुसार यात्रु तथा पर्यटकलाई Safety, Security र Facilitation प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो । यात्राका क्रममा आवश्यक सूचना सहज रूपमा उपलब्ध हुँदा सवारी दुर्घटना न्यूनीकरण, सडक अनुशासन अभिवृद्धि तथा पर्यटकलाई सहज र सुरक्षित यात्रा अनुभव दिलाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

गण्डकी प्रदेशको प्रवेशद्वारका रूपमा परिचित राम्दी क्षेत्रमा सुरु गरिएको यो प्रविधिमैत्री पहलले आधुनिक सूचना प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै पर्यटन प्रवर्द्धनमासमेत सकारात्मक योगदान पुग्ने अपेक्षा स्याङ्जाबासीकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *