नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिपक्षसँग संवाद गर्न आग्रह गर्दै संवादबाट प्रधानमन्त्रीको कद नघट्ने बताएका छन्। उनले प्रधानमन्त्री संवादबाट टाढा रहनु अहंकारका कारण भएको हो भने त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुने टिप्पणी गरे।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारप्रति जनतामा असन्तुष्टि बढ्दै गएको दाबी गरे। उनले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दुई तिहाइ बहुमतको दम्भ नपाल्न पनि चेतावनी दिए।
प्रधानमन्त्रीलाई सम्बोधन गर्दै प्रचण्डले नेपालमा जटिल राजनीतिक परिस्थितिको निकास दिन सक्ने अनुभवी नेता, बुद्धिजीवी र विज्ञहरूको कमी नरहेको उल्लेख गरे। लोकतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि लामो समयदेखि संघर्ष गरेका व्यक्तिहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई कुनै संकोच हुन नहुने उनको भनाइ थियो।
उनले भने, ‘नेपालमा विगतका धेरै अनुभवबाट गुज्रिएका नेता, बुद्धिजीवी र विज्ञहरूको ठूलो पंक्ति छ। उनीहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई के ले रोकेको होला? मलाई अनौठो लाग्छ।’
प्रचण्डले आफूलाई बोलाएर अनुभवबारे सोध्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे। ‘उहाँले मलाई बोलाएर एकचोटी सोध्नुभएको भए पनि हुन्थ्यो— भ्रष्टाचारविरुद्ध लड्छु भनेर सुरु गर्नुभएको थियो, के ले सफल हुन दिएन? के ले रोक्यो? आफ्नै अहंकारले रोक्यो कि? यदि त्यसो हो भने त्यो दुर्भाग्यपूर्ण हो,’ उनले भने।
प्रचण्डले लोकतान्त्रिक व्यवस्थामा संवाद, सहकार्य र परामर्शलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै सरकारलाई प्रतिपक्षसँग सहकार्यको वातावरण बनाउन आग्रह गरे।