सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि कोशी प्रदेशका भारतसँग सीमा जोडिएका सबै प्रमुख नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित घुसपैठ, धार्मिक संगठनको आवरणमा नेपाल प्रवेश गर्ने समूह, अवैध हातहतियार तथा लागुऔषध ओसारपसार रोक्न सुरक्षा निकायले सीमा क्षेत्रमा विशेष निगरानी बढाएको छ।
सुरक्षा निकायका अनुसार अब भारतबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रूपमा परिचयपत्र (आईडी कार्ड) देखाउनुपर्ने व्यवस्था लागू गरिएको छ। वैध परिचयपत्र भएका व्यक्तिलाई मात्रै नेपाल प्रवेश गर्न दिइने जनाइएको छ।
देवानगन्ज घटनापछि उत्पन्न सुरक्षा अवस्था, सामाजिक सद्भाव र शान्ति व्यवस्थाबारे समीक्षा गर्न कोशी प्रदेश सरकारले बुधबार विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सर्वपक्षीय बैठक आयोजना गरेको थियो। बैठकमा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले सीमा क्षेत्रमा सुरक्षा सतर्कता उल्लेखनीय रूपमा बढाइएको जानकारी दिए।
उनका अनुसार घटनाको आडमा बाह्य तत्वको घुसपैठ, अवैध हातहतियारको कारोबार तथा लागुऔषध तस्करी बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सीमा नाकामा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ। सुनसरीमा मधेश प्रदेशबाट समेत थप प्रहरी खटाइएको र कोशी प्रदेशका अन्य जिल्लाबाट समेत सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले धार्मिक संघ–संगठनको नाममा केही समूह भारतबाट नेपाल प्रवेश गर्न सक्ने सूचना प्राप्त भएकाले सीमा नाकामा निगरानी थप कडा बनाइएको जानकारी दिए। उनले परिचयपत्रबिना नेपाल प्रवेश गर्न नदिने र शंकास्पद गतिविधिमाथि विशेष निगरानी राखिएको स्पष्ट पारे।
गत आइतबार राति सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा दुई पक्षबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा गोली लागेर नौ जना घाइते भएका थिए भने सुरक्षाकर्मीसहित घाइतेको संख्या २२ भन्दा बढी पुगेको छ।
घटनापछि सुनसरीका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन, आगजनी, तोडफोड, आक्रमण, लुटपाट तथा सवारीसाधन सञ्चालनमा अवरोधका घटना भएका छन्। त्यसपछि प्रशासन र सुरक्षा निकायले सुनसरीसहित सीमा क्षेत्र तथा अन्य संवेदनशील स्थानमा सुरक्षा व्यवस्था थप सुदृढ बनाएका छन्।
सर्वपक्षीय बैठकमा सहभागी राजनीतिक दल, प्रशासन, सुरक्षा निकाय तथा नागरिक समाजका प्रतिनिधिले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन, अफवाह नफैलाउन तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्।