निम्सदाइको सपनाअनुसार काठमाडौं–सगरमाथा सुरक्षित सडक निर्माण अघि बढाइने : मन्त्री लम्साल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले विश्वप्रसिद्ध नेपाली पर्वतारोही निम्सदाइ (निर्मल पुर्जा) ले देखाएको पर्यटन विकासको दूरदर्शी सोचलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विशेषगरी काठमाडौंलाई सगरमाथा क्षेत्रसँग सुरक्षित सडकमार्फत जोड्ने अवधारणालाई सरकारले प्राथमिकताका साथ अघि बढाउने बताएका छन् ।

निम्सदाइको स्मृतिमा सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै मन्त्री लम्सालले पाकिस्तान प्रस्थान गर्नुअघि निम्सदाइ आफ्नो कार्यकक्षमा आएर नेपालमा साहसिक खेलकुद पर्यटन र पर्वतीय पर्यटनको अपार सम्भावनाबारे विस्तृत छलफल गरेको स्मरण गरेका छन् ।

मन्त्री लम्सालका अनुसार उक्त भेटमा निम्सदाइले नेपालमा विदेशी लगानी भित्र्याउन अनुकूल वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए। उनले हिमाली पर्यटनलाई वर्षभरि सञ्चालन गर्न सकिने गरी पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिएका थिए।

उनका अनुसार निम्सदाइले सगरमाथा क्षेत्रमा अफ–सिजनका बेला हेलिकोप्टरमार्फत समेत पुग्न कठिन हुने अवस्था रहेको उल्लेख गर्दै पर्यटक वर्षभरि नै सुरक्षित रूपमा पुग्न सक्ने सडक तथा अन्य पूर्वाधार निर्माण गर्नुपर्ने सुझाव दिएका थिए। त्यसका साथै काठमाडौंदेखि सगरमाथा क्षेत्रसम्म सुरक्षित सडक सञ्जाल निर्माण गर्नुपर्ने आफ्नो स्पष्ट अवधारणा पनि राखेका थिए।

मन्त्री लम्सालले निम्सदाइले देखाएको त्यही दूरदर्शी सोचलाई आत्मसात् गर्दै नेपाल सरकार काठमाडौं–सगरमाथा सुरक्षित सडक निर्माणको दिशामा अघि बढ्ने बताएका छन्। उनका अनुसार यस्तो सडकले हिमाली क्षेत्रको पहुँच सहज बनाउने, पर्यटनलाई बाह्रै महिना सञ्चालन गर्न सहयोग पुग्ने, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने तथा विदेशी लगानी आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

उनले सरकारले लगानीमैत्री वातावरण निर्माण, साहसिक पर्यटनको विस्तार, पर्वतीय क्षेत्रमा सुरक्षित पूर्वाधार विकास तथा नेपाललाई विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित निरन्तर काम गरिरहेको उल्लेख गरेका छन्।

श्रद्धाञ्जली सन्देशको अन्त्यमा मन्त्री लम्सालले, “आज हजुर शारीरिक रूपमा हामीबीच नहुनु भए पनि हजुरले देख्नुभएको सम्भावना र सपना पूरा गर्ने हाम्रो प्रतिबद्धता सधैं रहनेछ। अलविदा दाइ, हार्दिक श्रद्धाञ्जली,” भन्दै निम्सदाइप्रति सम्मान व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *