बालेनको मुक्तिनाथ भ्रमणपछि बढ्यो चहलपहल, एकैदिन आठ हेलिकप्टर उडे

प्रधानमन्त्री बालेन शाहको मुक्तिनाथ भ्रमणपछि मुस्ताङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य मुक्तिनाथ क्षेत्रमा चहलपहल बढेको देखिएको छ। प्रधानमन्त्रीको भ्रमणलगत्तै सोमबार एकैदिन आठ वटा हेलिकप्टरले मुक्तिनाथ क्षेत्रमा उडान गरेका छन्।

जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार विभिन्न हेलिकप्टर कम्पनीले काठमाडौं–मुक्तिनाथ र मुक्तिनाथ–काठमाडौं दुईतर्फी उडान सञ्चालन गरेका हुन्। ती उडानमार्फत ३२ जना भारतीय दर्शनार्थीले हेलिकप्टरबाट मुक्तिनाथ पुगेर दर्शन गरेका छन्।

जोमसोम विमानस्थलका प्रमुख दीपक पोखरेलका अनुसार वर्षायाममा एकैदिन यति धेरै हेलिकप्टर उडान भएको यो पहिलोपटक हो।

सोमबार काठमाडौं–मुक्तिनाथ र मुक्तिनाथ–काठमाडौं उडानमा एयर डाइनेस्टिक, अल्टिच्युड एयर, एभरेस्ट हेलि, अन्नपूर्ण एयर र मिम्रिक एयरलगायत कम्पनीका हेलिकप्टर प्रयोग भएका थिए।

स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार प्रधानमन्त्री शाहको मुक्तिनाथ भ्रमणपछि धार्मिक तथा पर्यटकीय क्षेत्रप्रति थप चासो बढेको छ। सामान्यतया वर्षायाममा पर्यटक तथा दर्शनार्थीको चहलपहल कम हुने भए पनि एकैदिन आठ वटा हेलिकप्टर सञ्चालन हुनु मुक्तिनाथप्रतिको आकर्षण बढ्दै गएको संकेत भएको उनीहरूको भनाइ छ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथमा विशेषगरी भारतीय दर्शनार्थीको उल्लेख्य आकर्षण रहने गरेको छ। सडकमार्गबाट यात्रा गर्दा लाग्ने समय तथा वर्षायाममा हुने मौसमजन्य चुनौतीका कारण पछिल्लो समय हेलिकप्टरमार्फत मुक्तिनाथ पुग्ने दर्शनार्थीको संख्या पनि बढ्दै गएको छ।

प्रधानमन्त्री शाहको भ्रमणपछि मुक्तिनाथ क्षेत्र पुनः चर्चामा आएसँगै धार्मिक पर्यटनसँगै हेलिकप्टर सेवाप्रति समेत आकर्षण बढ्न थालेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *