बाढीले सडक सञ्जाल टुटाएपछि तादी खोलामा ‘एक्रो ब्रिज’ जडान गर्दै नेपाली सेना

गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि सडक सञ्जालबाट टुटेको नुवाकोटको विदुरस्थित देवीघाट क्षेत्रमा नेपाली सेनाले अस्थायी पुल जडानको काम अघि बढाएको छ ।

विदुर नगरपालिका क्षेत्रमा पर्ने देवीघाटस्थित तादी नदीमाथिको पुल बाढीले बगाएपछि उक्त स्थानमा आवागमन प्रभावित भएको हो। मुख्य सडक सञ्जालसँगको सम्पर्क पुनःस्थापित गर्न नेपाली सेनाको इन्जिनियरिङ फौजले एक्रो ब्रिज (अस्थायी बेलिब्रिज) जडानका लागि काम थालेको हो ।

पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङ फौजबाट ५५ जनाको टोली देवीघाटमा परिचालन गरिएको छ। टोलीले पुल राख्ने स्थानमा आवश्यक आधार तथा पूर्वतयारीको काम गरिरहेको छ ।

सेनाका अनुसार पुल जडानका लागि गजुरीमा रहेको एक्रो ब्रिजका केही सामग्री त्रिशूली पुर्‍याइसकिएको छ भने बाँकी आवश्यक सामग्रीसमेत क्रमशः ढुवानी भइरहेको छ। सामग्री उपलब्ध भएसँगै पुल जडानको कामलाई तीव्रता दिइने जनाइएको छ ।

बाढीले नुवाकोटसहित प्रभावित क्षेत्रमा ठूलो संख्यामा पुल तथा सडक संरचनामा क्षति पुर्‍याएको छ। मुख्य सडक मार्गमा रहेका पुलहरू क्षतिग्रस्त भएपछि कतिपय स्थानमा वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था छ। तादी खोलाको पुल बगेपछि देवीघाट क्षेत्रमा समेत स्थानीयवासी तथा अत्यावश्यक सेवाका सवारीसाधनको आवागमनमा समस्या भएको छ ।

सडक विभागले समेत बाढीबाट क्षतिग्रस्त मुख्य सडक सञ्जाल पुनः सञ्चालनका लागि देवीघाटको तादी खोला, त्रिशूली बजार र बेत्रावती क्षेत्रमा अस्थायी पुल निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ। यी स्थानमा अस्थायी पुल सञ्चालनमा आएपछि नुवाकोट–रसुवा जोड्ने तथा आसपासका क्षेत्रको यातायात सम्पर्क सहज हुने अपेक्षा गरिएको छ ।

बाढीपछि उद्धार, राहत तथा सडक सञ्चालनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत परिचालन हुँदै आएका छन्। सडक सम्पर्क पुनःस्थापनालाई प्राथमिकता दिँदै सेनाको इन्जिनियरिङ टोलीले क्षतिग्रस्त स्थानमा अस्थायी संरचना निर्माणको काम अघि बढाएको हो ।

देवीघाटमा एक्रो ब्रिज जडान सम्पन्न भएपछि बाढीका कारण टुटेको सडक सम्पर्क पुनःस्थापित हुनुका साथै स्थानीयको आवतजावत, राहत सामग्री ढुवानी र अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालनमा महत्वपूर्ण सहजता पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *