विभिन्न कसूरमा अदालतबाट जरिवाना तोकिएपछि फरार रहेका तीन जना प्रतिवादीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालतबाट विभिन्न कसूरमा जरिवाना तोकिएका फरार प्रतिवादीको खोजी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा माना चामल कसूरमा जरिवाना तोकिएका एक जना, डाँका चोरी कसूरमा जरिवाना तोकिएका एक जना र चेक अनादर कसूरमा जरिवाना तोकिएका एक जना छन् ।
प्रहरीका अनुसार माना चामल कसूरमा एक जनालाई २ हजार ४३० रुपैयाँ, डाँका चोरी कसूरमा एक जनालाई ५०० रुपैयाँ र चेक अनादर कसूरमा एक जनालाई ३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
तीनै जनालाई पक्राउ गरी तोकिएको जरिवाना असुलका लागि बुधबार नै स्याङ्जा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका तीन जनाबाट अदालतले तोकेको कुल ५ हजार ९३० रुपैयाँ जरिवाना असुल हुने प्रहरीले जनाएको छ ।