राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले गम्भीर ध्यानाकर्षण जनाएकी छन्।
मन्त्री मेहताले स्वास्थ्य संस्थामा पुग्ने हरेक नागरिकले समयमै उपचार, सम्मान र मानवीय व्यवहार पाउनुपर्ने बताएकी छन्। उनले उक्त घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको जनाएकी हुन्।
घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन टोली राजविराज पठाइएको मन्त्री मेहताले जानकारी दिएकी छन्। साथै, अस्पतालसँग घटनाबारे स्पष्टीकरणसमेत माग गरिएको उनले बताएकी छन्।
मन्त्री मेहताका अनुसार घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता बाहिर ल्याइनेछ। छानबिनका क्रममा अस्पताल वा सम्बन्धित व्यक्तिबाट गल्ती अथवा लापरबाही भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ।
स्वास्थ्य सेवामा नागरिकको विश्वास र अधिकारप्रति मन्त्रालय संवेदनशील र प्रतिबद्ध रहेको मन्त्री मेहताले बताएकी छन्।