समाचार

१४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी प्रधानमन्त्री शाह स्वदेश फर्किए

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा जलवायु संकटदेखि भोटेकोशी बाढीसम्म उठाए प्रधानमन्त्री शाहले

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी भएका प्रधानमन्त्री शाह केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

प्रधानमन्त्री शाह गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले नेपाली समयअनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए।

त्यसपछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय जनरल डिबेटलाई नेपालको तर्फबाट सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले जलवायु परिवर्तन, हिमाली क्षेत्रमा बढ्दो जोखिम तथा हालैको भोटेकोशी बाढीबाट नेपालले बेहोरेको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री शाहले हिमाली क्षेत्रमा विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली सुदृढीकरण र सीमापार समन्वयका लागि ‘Himalayan Climate Resilience Mechanism’ स्थापना गर्न प्रस्ताव गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री शाह न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा समेत सहभागी भएका थिए।

न्युयोर्कबाट दोहा हुँदै काठमाडौं फर्किएका प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि परराष्ट्र मन्त्रालयले भ्रमणबारे प्रेस ब्रिफिङ गर्दैछ। उक्त ब्रिफिङमा प्रधानमन्त्रीको महासभा सहभागिता, उच्चस्तरीय भेटवार्ता तथा भ्रमणका उपलब्धिबारे जानकारी गराइने जनाइएको छ।

सम्बन्धित समाचार