समाचार

बाढीपहिरोबाट २७ जनाको मृत्यु, १ हजारभन्दा बढी परिवार प्रभावित

असोज ८ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर २७ जनाको मृत्यु भएको छ ।

बाढीपहिरोबाट २७ जनाको मृत्यु, १ हजारभन्दा बढी परिवार प्रभावित

असोज ८ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर २७ जनाको मृत्यु भएको छ । घटनामा ७ जना घाइते भएका छन् भने ४ जना अझै सम्पर्कविहीन छन् ।

सरकारका अनुसार यस अवधिमा भएका ५१३ वटा मनसुनजन्य घटनाबाट १ हजार ६५ परिवार प्रभावित भएका छन् । प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सम्बन्धित स्थानीय तहसँगको समन्वयमा राहत तथा अस्थायी बसोबासको व्यवस्था मिलाइएको सरकारले जनाएको छ ।

बाढीपहिरोका कारण देशभरका विभिन्न राजमार्ग तथा सडकखण्डका १४७ स्थानमा क्षति पुगेको थियो । तीमध्ये १२५ स्थानमा मर्मत गरी सडक सञ्चालनमा ल्याइएको छ । बाँकी क्षतिग्रस्त सडकखण्डको मर्मत कार्य पनि तीव्र रूपमा अघि बढाइएको सरकारले जनाएको छ ।

त्यस्तै, बाढीका कारण कालीगण्डकी कोरिडोर, मर्स्याङ्दी र सेती–मादी कोरिडोरलगायत क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनमार्फत हुने १ हजार १३.२ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको थियो । तीमध्ये सेती–मादी कोरिडोरका २६२ मेगावाट र मर्स्याङ्दी कोरिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र सञ्चालनमा आइसकेका छन् । बाँकी संरचनाको मर्मत कार्य जारी रहेको सरकारले जनाएको छ ।

बाढीपहिरोबाट प्रभावित दूरसञ्चार सेवा पनि क्रमशः सञ्चालनमा ल्याउने काम भइरहेको छ । नेपाल टेलिकमका १ हजार १३२ टावरको नेटवर्क विच्छेद भएकामा ७८२ वटा पुनः सञ्चालनमा ल्याइएको छ । त्यस्तै, एनसेलका १६२ वटा नेटवर्क विच्छेद भएकामा १०५ वटा मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।

सरकारले प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षतिग्रस्त सडक, विद्युत् तथा दूरसञ्चारलगायत पूर्वाधारको मर्मत गरी जनजीवनलाई सामान्य अवस्थामा फर्काउन आवश्यक संयन्त्र परिचालन गरिएको जनाएको छ ।

सम्बन्धित समाचार