प्रतिपत्र अनलाइनकी सम्पादक तथा कान्तिपुर दैनिककी संवाददाता प्रतीक्षा काफ्लेलाई बालबालिकाको क्षेत्रमा पत्रकारितामार्फत पुर्याएको योगदानको कदर गर्दै बाल कल्याण संस्था पाेखराले सम्मान गरेको छ । संस्थाको २५औँ रजत जयन्तीका अवसरमा सोमबार काफ्लेलाई नगद रकमसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
विगत १५ वर्षदेखि पत्रकारितामा सक्रिय काफ्लेले आफ्नो पत्रकारिता यात्राको महत्वपूर्ण हिस्सा महिला तथा बालबालिकाका सवालमा केन्द्रित गर्दै आएकी छन् । विशेषगरी बालबालिकाका समस्या, उनीहरूको अधिकार, संरक्षण तथा बालगृहका गतिविधिलाई समाचारमार्फत सार्वजनिक बहसमा ल्याउने काममा उनको सक्रियता रहँदै आएको छ ।
कान्तिपुर दैनिकमा विगत १३ वर्षदेखि संवाददाताका रूपमा कार्यरत काफ्लेले बालबालिकासम्बन्धी विषयलाई निरन्तर प्राथमिकताका साथ समाचारमा उठाउँदै आएकी छन् । बालबालिकाका समस्या र उनीहरूले भोगिरहेका सामाजिक चुनौतीलाई पत्रकारितामार्फत सम्बन्धित निकाय र समाजसम्म पुर्याउने उनको निरन्तर प्रयास रहँदै आएको छ ।
बालगृहहरूका गतिविधि, बालबालिकाको संरक्षण तथा उनीहरूको शिक्षालगायतका विषयलाई समाचारका माध्यमबाट प्रवद्र्धन गर्न काफ्लेले भूमिका खेलेको संस्थाले जनाएको छ । यही योगदानको कदर गर्दै हरेक वर्ष बालबालिकाको क्षेत्रमा कलम चलाउने एक पत्रकारलाई प्रदान गर्दै आएको ‘बाल कल्याण पत्रकारिता पुरस्कार’ यस वर्ष काफ्लेलाई प्रदान गरिएको हो ।
काफ्लेको पत्रकारिता यात्रा भने समाचार लेखनमा मात्रै सीमित छैन । सञ्चारमाध्यममार्फत बालबालिका तथा महिलाका सवाललाई निरन्तर उठाउँदै आएकी उनी अहिले प्रतिपत्र अनलाइनको सम्पादकको जिम्मेवारीमा समेत सक्रिय छिन् । स्थानीयदेखि समसामयिक सामाजिक सवालसम्म समाचार सम्प्रेषण गर्दै आएकी काफ्लेको पत्रकारिता यात्रामा बालबालिकाका विषयले विशेष स्थान बनाउँदै आएको छ ।
पोखरा–१८, सेदीमा रहेको बाल कल्याण संस्थाले काफ्लेसहित गैरसरकारी संस्था महासंघको नेतृत्वमा रहेर बालगृहको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै गैसस महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीलाई पनि सम्मान गरेको छ ।
त्यसैगरी, संस्थाकी कर्मचारी पार्वती पौडेललाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको छ। वर्षभरि गरेको कामका आधारमा पौडेललाई सम्मान गरिएको हो। उनी विगत १४ वर्षदेखि संस्थामा कर्मचारीका रूपमा कार्यरत छन् ।
२५ वर्षदेखि बाल संरक्षणमा सक्रिय संस्था
कार्यक्रममा संस्थाको सामाजिक लेखापरीक्षणसमेत सम्पन्न गरिएको थियो। बालगृह सञ्चालनका लागि बनाइएको १८ बुँदे मापदण्ड पूरा गरेर संस्था सञ्चालनमा रहेको सामाजिक लेखापरीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
चिल्ड्रेन वेलफेयर एसोसियसन, स्वीजरल्यान्डको सहयोगमा सञ्चालित संस्थाले हाल २० जना बालक र १५ जना बालिकासहित ३५ जना बालबालिकालाई आवासीय सुविधा, भोजन र शिक्षाको व्यवस्थासहित संरक्षण गरिरहेको जानकारी दिइएको छ ।
२०५७ सालमा स्थापित संस्था हाल तरकारी र दूधमा आत्मनिर्भर हुनुका साथै माछामा समेत आत्मनिर्भर हुने प्रक्रियामा रहेको श्रेष्ठले जानकारी दिए। संस्थाले संरक्षण गरेका बालबालिकामध्ये हालसम्म ३४ जनालाई समुदायमा पुनःस्थापित गराइसकेको छ भने ९० जना विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ। गत वर्ष मात्रै सात जनालाई समुदायमा पुनःस्थापित गरिएको श्रेष्ठले बताए।
कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष इन्दिरा बरालले बाल कल्याण संस्था सरकारले तोकेका सबै मापदण्ड पूरा गरेर सञ्चालनमा रहेको बताइन् ।
संस्थाका कार्यकारी अधिकृत विजयकुमार प्रधानले संस्थाले बालबालिकाको संरक्षणसँगै सामाजिक कार्यलाई पनि निरन्तर रूपमा अगाडि बढाउँदै आएको बताए। उनले बालबालिकाको रुचिअनुसार विद्यालय छनोट गरेर शिक्षा प्रदान गरिरहेको जानकारी दिए ।
संस्थाका प्रशासकीय अधिकृत प्रकाश गिरीले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका गण्डकी प्रदेश कार्यालय प्रमुख नितु गर्तौला, गैसस महासंघका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदी, शिक्षाविद् शेरबहादुर गुरुङलगायतले संस्थाले अब्बल रूपमा बालगृह सञ्चालन गरिरहेको बताएका थिए ।





