सरकारले बीमा दाबीअन्तर्गत हुने क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ। सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी, व्यवस्थित र सुशासनमा आधारित बनाउन उक्त प्रणाली विकास गरिएको हो ।
हाल सबै सर्भेयरको तथ्यांक प्रणालीमा प्रविष्ट भइसकेको छ। प्रणालीले सर्भेयरको विज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता तथा पोर्टफोलियोलगायतका आधारमा उपयुक्त सर्भेयर छनोट गर्नेछ ।
तोकिएका मापदण्डका आधारमा प्रणालीले स्वचालित रूपमा सर्भेयर छनोट गर्ने भएकाले एउटै सर्भेयरलाई पटक–पटक काम दिने वा अन्य सर्भेयरले पर्याप्त अवसर नपाउने अवस्थालाई पहिचान तथा नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रणालीमार्फत सर्भेयरले हालसम्म कति काम पाएको, कुन–कुन काम सम्पन्न गरेको र नयाँ काम लिन सक्ने अवस्थामा छ वा छैन भन्ने विवरणसमेत ट्रयाक गर्न सकिनेछ । यसले बीमा दाबीको क्षति मूल्याङ्कन प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउँदै समय तथा लागत घटाउनसमेत सहयोग गर्नेछ ।




