नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि पदअनुसार उम्मेदवारी मनोनयन शुल्क निर्धारण गरिएको छ। केन्द्रीय निर्वाचन समितिले सभापतिदेखि केन्द्रीय सदस्यसम्मका लागि फरक–फरक शुल्क तोकेको हो।
समितिका अनुसार सभापति पदका लागि ४० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ मनोनयन दस्तुर तोकिएको छ।
उम्मेदवारी दर्ताका क्रममा उम्मेदवारले तोकिएको शुल्क जम्मा गरेको भौचर, पार्टीको क्रियाशील सदस्यता विवरण, आवश्यक परिचयपत्र तथा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको प्रमाणलगायत कागजात बुझाउनुपर्नेछ।
विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट उम्मेदवारी दिनेले नेपाली नागरिकताको प्रतिलिपिसमेत पेश गर्नुपर्ने व्यवस्था छ। साथै प्रस्तावक र समर्थकको विवरण पनि मनोनयनपत्रमा अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ।
निर्वाचन समितिले उम्मेदवारले आफूले उम्मेदवारी दिएको पदबाहेक अन्य पदका उम्मेदवारलाई प्रस्तावक वा समर्थक बन्न नपाउने स्पष्ट पारेको छ। प्रचारप्रसारमा पार्टीको झण्डा, चुनाव चिह्न तथा अन्य सामग्री प्रयोग गर्दा निर्वाचन आचारसंहिता पालना गर्नसमेत निर्देशन दिइएको छ।





