वेमौसमी बर्षाले गण्डकीमा २४ करोडको धान नष्ट

Share this post :

Facebook
Twitter
WhatsApp

धान थन्काउने समयमा परेको वेमौसमी बर्षाका कारण गण्डकी प्रदेशमा २४ करोड बराबरको धान नष्ट भएको छ । कृषि विकास निर्देशक बासुदेव रेग्मीले क्षतिको खर्च विवरण अझै आउन बाँकी रहेको बताए । ‘हामीले मोटामोटी हिसाव गर्दा पनि यति धेरै क्षति भएको छ’ उनले भने, ‘जिल्ला र स्थानीय तहसंग छुट्टाछुट्टै क्षतिको विवरण माग गरेका छौ । एकिन तथ्यांक आउनै छ ।’
प्रदेशका ११ जिल्ला मनाङ र मुस्ताङ बाहेक ९ वटा जिल्लामा धान खेती गरिन्छ । कृषि विकास निर्देशनालयका अनुसार ९ जिल्लाको १ लाख २० हजार ५ सय ८० हेक्टरमा धान खेती हुन्छ । यसमध्ये यसबर्ष १ लाख १७ हजार ९ सय ३० हेक्टरमा अर्थात ९८ प्रतिशत धान रोपाइँ भएको थियो । निर्देशनालयकी कृषि अर्थ विज्ञ शशी अधिकारीले हालसम्म २ हजार ३ सय ७८ हेक्टरको धान कृषकले भित्रयाइसकेको बताइन् । उनका अनुसार २ हजार ५ सय ९१ ह्ेक्टरमा धान पूर्णरुपमा क्षति भएको छ भने, ७ हजार ८ सय २१ ह्ेक्टरमा आंशीक क्षति भएको छ ।
‘पानी परिरहेको छ’ उनले भनिन्, ‘हामीसंग डिटेलमा डाटा आइसकेकै छैन् । सवै डाटा आएपछि क्षति विवरण बढ्न सक्छ ।’ उनले यसबर्ष सुरुदेखी नै बर्षा भएकाले धान रोप्ने बेलामा पनि पानीको समस्या नभएको बताइन् । कार्यालयले यसबर्ष धान उत्पादन हुने लक्ष्य लिएको थियो । निर्देशक रेग्मीले धन्काउने बेलाको धानमा क्षति पुग्दा धान उत्पादन घट्ने बताए । ‘बर्षा र हावाहुरीले बर्वाद पा¥र्यो’ उनले भने, ‘यदी बर्षा नहुदै धान समेल्न पाएको भए गतबर्षको तुलनामा धान उत्पादन बृद्धि हुन्थ्यो ।’ पाकेको पहेँलपुर धानमा क्षति पुग्दा लामोसमयसम्म असर पुग्ने उनले बताए । कार्यालयको तथ्यांक अनुसार गण्डकीमा सवैभन्दा बढी धान उत्पादन कास्कीमा हुन्छ ।
कृषि विज्ञ अधिकारीले यसबर्ष धेरै धान क्षति पनि कास्कीमा नै भएको बताइन् । उनका अनुसार कास्कीमा मात्रै १ हजार ७ सय ३५ हेक्टरमा धान क्षति भएको छ । कास्कीपछि धेरै धान उत्पादन हुने जिल्ला स्याङ्जा हो । स्याङ्जामा पनि बढी धान क्षति भएको कार्यालयले जनाएको छ । गण्डकीमा बढी जेठोबुढो, बासमती, सावित्री, मनसुली, राधा–४, अनदी, झिनुवा, स्थानीय धान र हाइव्रिड लगायतका धान रोपिन्छ । कार्यालयका अनुसार सवैभन्दा कम धान उत्पादन हुने जिल्ला म्याग्दी हो । कार्यालयका अनुसार गण्डकीको कुल १९ लाख ८४ हजार ९ सय ४६ हेक्टर क्षेत्रफल मध्ये खेतीयोग्य जमिन २०.४३ प्रतिशत अर्थात ४ लाख ५ हजार ६ सय ६३ हेक्टर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *