दशैको बेला सररर फेवातालमा ढुंगा सयर गर्ने । हिमाल हेर्दै संगै फोटो खिच्ने । प्याराग्लाइडिङ गर्दै आकाशमा उड्ने । दुईदिन लेकसाइडमा बास बस्ने । पोखरा आसपास घुम्ने र अर्को दिन कुनै एक होमस्टे जाने योजनासहित दाङको घोराही उपमहानगरपालिका–७ की विमला केसी आइतबार पोखरा आइपुगिन् । सोही साँझ लेकसाइड घुम्दै उनी पोखराका खानेकुरा (परिकार) चाख्नमै व्यस्त बनिन् ।
परिवारसहित आएकी उनी भोलीपल्ट विहान उनी दर्शनको लागि तालबराही मन्दिर गइन् । मन्दिरमा पुजा गरेर निस्किएपछि उनी छुट्टै एकघण्टा तालमा बोटिङ गरिन् । श्रीमान र दुई छोराछोरीको साथमा उनी पोखरा आएकी थिइन् । ‘हिमाल हेर्ने रहर अधुरै रहयो’ उनले भनिन, ‘अहिले सहित म तिनपटक पोखरा आए तर, हिमाल हेर्ने रहर कहिलै पुरा भएन ।’ जहिले आउदा पनि पानी पर्ने र मौसम नै फेरिने भएकाले हिमाल हेर्ने नपाएको गुनासो उनको थियो । शनिवारदेखी परेको झरिले उनी जस्ता कर्यो पर्यटकको घुम्ने योजना खल्बलियो ।
सराङकोट जाने र प्याराग्लाइडिङ गर्ने उनको इच्छा थियो । पोखराको जीपलाइन र बञ्जी हेर्ने, पर्वतको बन्जी हेर्ने योजना उनको हो । घोराही–७ की विनु दाहाल पनि पहिलोपटक पोखरा आएकी छन् । उनीपनि श्रीमान र दुई छोराछोरीको साथमा दशैको मौका पारी घुम्न आएकी हुन् । पोखरा घुम्ने उनको योजना विमलाका जस्तै छन् । निरन्तर परेको झरीका कारण दाहाल मन फुकाएर रमाउन भने पाइनन् । ‘पोखरा धेरै सुने’ उनी भन्छिन, ‘आउने मौका भने जुरेको थिएन् । पहिलोपटक पारिवारीक घुमघामका निस्किएकी हुँ । फेवाताल घुम्ने र तालबराही दर्शन गरे । पानी परेकाले प्याराग्लाइडिङ भने गर्न पाइदैन भन्नुभएको ।’ पोखरा सुन्नमा भन्दापनि हेर्नमा बढी रमाइलो रहेको उनको भनाई छ । ‘पोखरा आउने रहर सानैदेखी हो’ उनले थपिन, ‘फेवाताल, बेगनासतालमा बोटिङ गर्ने, बन्जि हान्ने, आकाशमा उड्ने, सवै कुरा एकै ठाउँमा आहा कति रमाइलो । बजार पनि उस्तै सफा ।’
यतिबेला देशको विभिन्न ठाउँबाट घुम्न आउनेको ओइरो लागेको छ । लामोसमयदेखि उथलपुथल भएको पोखरा अहिले जागेको छ । होटल, रेष्टुरेन्ट, डुंगा, प्याराग्लाइडिङ लगायतका व्यवसायीलाई अहिले भ्याईनभ्याई छ । बाह्रय पर्यटकभन्दा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । दशैको मौका पारि घुम्न आउने आन्तरिक पर्यटकको संख्याले यतिबेला पोखरामा भीड बढेको युवा व्यवसायी अर्जुन खनालले बताए । ‘दशैले यतिबेला पोखरा भरिएको छ’ उनले भने, ‘पहिलेजस्तो पर्यटन अझै चलायमान भएको छैन् । दशैपछि यो संख्या ह्रवात्तै घट्छ । जतिबेला पनि यतिकै भीडभाड भएमात्र पहिलेजस्तै हुन्छ ।’ पोखराको लेकसाइड व्यस्त छ । मानिसलाई ओहोरदोहोर गर्न पनि गाह्रो भएको पोखरा–६ लेकसाइडका स्थानीय मंगल नेपाली बताउछन् । ‘दशैको बेला भएर पनि होला दिनको लाखौ पर्यटक भित्रिएका छन्’ उनले भने, ‘होटल, रेष्टुरेन्टका त कुरै छाडौ ठेलाको पानीपुरी र चटपट पनि लाइन नबसी खान पाइदैन ।’ उनले ठेलाका साना व्यवसायीलाई पनि दशैको बेला भ्याईनभ्याई रहेको बताए ।
पोखरा आसपासका पर्यटक जुनसुकै समयमा पनि आउने बताउदै उनले यतिबेला टाढाटाढाबाट आउने गरेको बताए । पोखराका प्याराग्लाइडिङ व्यवसायी इन्द्रप्रसाद भण्डारीले दशै ओरालो लागेसंगै पर्यटकको संख्या पनि ओरालो लाग्न थालेको बताए । दशैको अघिल्ला दिनमा आन्तरिक पर्यटकको घुइँचो लागेको बताउदै उनले दशैको पूर्णिमासम्म भीडभाड भएपनि त्यसपछि घट्दै जाने बताए । टान गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष हरि भुजेलले लकडाउनको बेला ठप्प रहेको व्यवसाय यतिबेला राम्रो रहेको बताए । उनले आन्तरिक पर्यटकसंगै इन्डियन पर्यटक पनि आउने क्रम जारी रहेको बताए । समग्रको टुरिजम त्यति चलायमान नभएपनि अहिले आएका पर्यटकको संख्या हेर्दा नतिजा राम्रो देखिएको उनको भनाई छ । ‘पोखराको अन्य स्थानमा भन्दा लेकसाइडमा पर्यटक बढी छन्’ उनले भने, ‘दशैको आसपासमा त होटल भरिए नै । अहिलेको भीड हेर्दा समग्रमा ७० प्रतिशत भरिभराउ देखिन्छ । चाडवार्डले पनि हो कति दिनसम्म भीड रहन्छ भन्ने छ ।’ दोस्रो लकडाउनले नैसग्यता छाएको बेला अहिले उत्साह थपिएको उनले बताए । ‘पर्यटकको चाप हेर्दा सडक महोत्सवमा हुने भीड भन्दा केही कम हो । तर भीड राम्रो थियो’ उनले थपे ।
