अस्पतालमै थन्किए अक्सिजन प्लाण्ट

Share this post :

Facebook
Twitter
WhatsApp

कोरोना संक्रमितलाई थप व्यवस्थापनको लागि जिल्ला अस्पताल स्याङ्जाले अक्सिजन प्लाण्ट जडानको लागि गत जेठमा खरिद प्रकृया अगाडि बढायो ।

गत भदौमा अक्सिजन प्लाण्ट अस्पतालमा भित्रियो । अक्सिजन प्लाण्ट खरिद गर्दा अस्पतालले विद्युत्त ट्रान्समिटर भने खरिद गरेन । जसका कारण अस्पतालमा हालसम्म अक्सिजन प्लाण्ट संचालनमा आउन सकेको छैन् ।
अक्सिजन प्लान्ट जडान गर्ने आवश्यक विद्युत्त नहुदाँ प्लाण्ट यत्तिकै थन्किएको हो । विद्युत्तको व्यवस्थापन नहुदाँसम्म अक्सिजन प्लान्ट संचालनमा ल्याउन नसकिने स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए ।

‘जिल्ला अस्पतालमा नर्मल विद्युत्त छ’ प्रजिअ पौडेलले भने, ‘अक्सिजन प्लाण्ट जडानको लागि हाई भोल्टेजको विजुली चाहिन्छ । अस्पतालमा अहिलेसम्म हाइ भोल्टेजको विजुली छैन् ।’ धेरै क्षमताको विद्युत्त जडानको लागि विद्युत्त कार्यालयमा पनि छलफल भइरहेको प्रजिअ पौडेलले बताए । ट्रान्समिटर जडानमा पनि प्रकृया नमिलेका कारण ढिलाई भएको उनको भनाई छ । ‘ट्रान्समिटर माग गरिरहेका छौ’ उनले थपे, ‘अहिलेसम्म पाएका छैनौ ।’
जिल्ला अस्पताल स्याङ्जामा एउटा पुरानो अक्सिजन प्लाण्ट छ । सोही प्लाण्टले हालसम्म काम चलाइएको अस्पताल स्रोतले जनाएको छ । संचालनमा आउन नसकेको चाँही नयाँ प्लाण्ट हो । गण्डकी प्रदेश सरकारले प्रदेशका एघारवटै जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट जडान गर्ने योजना तय गरेअनुसार संघीय सरकारको अनुदानमा प्रदेशका एघारवटै जिल्लामा अक्सिजन प्लान्टको लागि प्रकृया थालिएको थियो । पृथ्वीसुव्वा गुरुङ नेतृत्वकै सरकारको पालामा अक्सिजन प्लाण्ट खरिदको प्रकृया सुरु गरिएको भए पनि हालसम्म समस्या उस्तै छ ।

केही जिल्लामा अक्सिजन प्लाण्ट जडान गरिएको भएपनि केही जिल्लामा भने विविध समस्याका कारण संचालनमा आउन सकेका छैनन् । गण्डकीका प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले मनाङमा पनि विद्युत्तकै समस्याले जडान गर्न नसकिएको बताए ।
‘अक्सिजन प्लाण्ट जडानको लागि थ्रिफेज लाइन चाहिन्छ’ उनले भने, ‘मनाङमा थ्रिफेज लाइन पुगेकै छैन । एकपटक पुगेको थियो लैजान नपाउदै बाढीपहिरोले विगार्यो । पुनःपुगेको छैन् । जसले गर्दा प्लाण्ट अस्पतालमै थन्काएर राखिएको छ ।’ उनले थ्रिफेज लाइनको लागि विद्युत्त प्राधिकरणसँग सहकार्य भइरहेको बताए ।

संघीय सरकारको परिपत्र अनुसार गण्डकीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित गण्डकीका स्थानीय तहका प्रमुख÷उपप्रमुख, प्रमुख जिल्ला अधिकारीसँग कोभिड व्यवस्थापनबारे छलफल चलाएको थियो । सोही क्रममा अधिकांश प्रमुख जिल्ला अधिकारीले कोभिड व्यवस्थापनका समस्या सुनाएका थिए । यस्तै, बाग्लुङको धौलागिरी अस्पतालमा पनि अक्सिजन प्लाण्ट जडान हुन सकेको छैन् । खरिद प्रकृया ढिला भएकाले संचालनमा आउन नसकेको प्रदेश स्वास्थ्य निर्देशक खड्काले बताए । उनका अनुसार प्लाण्ट ल्याउने कार्य जारी छ ।
यसैगरी, लमजुङ जिल्ला अस्पतालमा पनि अक्सिजन प्लाण्ट मर्मत गर्नुपर्ने अवस्था छ ।

२ हजार सिलिण्डर चलेपछि प्लाण्टको फिल्टर परिवर्तन गर्नुपर्छ । तर, बजेट अभावका कारण प्लाण्ट यत्तिकै थन्किएको छ । जति मर्मत गरे पनि खर्च बढ्दै जाने भएकाले यतिकै रहेको मन्त्रालयको स्रोतले जनाएको छ । मन्त्रालयका एक अधिकारी भन्छन, ‘जिल्लाबाट माग हुने कुरा स्वभाविक हो । तर, बजेट व्यवस्थापनमै समस्या छ । यतिमात्र होइन पुनः मर्मत गर्नुपर्नेमा खर्च बढ्दै जाने भएकाले यतिकै भएको हो ।’ जनशक्ति अभावका कारण जिल्ला अस्पताल नवलपुरको पिपिआर मेसिन यत्तिकै थन्किएको छ । ल्याव संचालन गर्ने जनशक्ति नभएपछि प्रदेश सरकारसँग पटकपटक जनशक्ति माग गरिएको अस्पताल स्रोतले जनाएको छ ।

मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले जनशक्ति अभाव भएका जिल्लामा दरबन्दी अनुसार केही दिनमा जनशक्ति पठाउने बताए । ‘एक दुई दिनमै स्वास्थ्यकर्मी खटिनेछन्’ उनले भने, ‘हामीले नियुक्ति दिन लागेका छौ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्री मघुमाया अधिकारीले संचालनमा आउन नसकेको अक्सिजन प्लाण्ट संचालनको लागि बजेट व्यवस्थापन गरिएको बताइन् । ‘हामीले कोभिड व्यवस्थापन समितिको वैठक बसी बजेट छुट्याएका छौ’ उनले भनिन, ‘सवै जिल्लामा आवश्यक अनुसार पठाउनेछौ ।’ मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले भइरहेका स्रोत र साधनलाई अपडेट गर्दै लैजाने बताए । अक्सिजन प्लाण्टलाई पूर्णता दिने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *