गण्डकी प्रदेश सरकारले निर्वाचन लक्षित ठूलो आकारको बजेट ल्याउने तयारी गरेको छ । जेठ २४ मा नीति तथा कार्यक्रम ल्याएको सरकारले लोकप्रिय कार्यक्रम समेटेर बुधबार आर्थिक वर्ष २०७९÷८० को बजेट ल्याउने भएको हो । सरकारको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभा वैठकबाट बहुमतले पारित भइसकेको छ । सरकारको आफ्नो कार्यकालमा ल्याउने यो नै अन्तिम बजेट हो ।
सरकारले चालु आवको लागि ३० अर्व ९० करोड ३३ लाख ९१ हजार बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षको लागि ६ अर्वको बजेट बढाउने तयारी सरकारको छ । स्रोतका अनुसार न्युनतम ३६ अर्व र बढीमा ३८ अर्वसम्म बजेट आउने तयारी भइरहेको छ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले चालु वर्षको भन्दा आगामी वर्षको लागि बजेट बढेर आउने बताएका हुन् । उनले सार्वजानिक रुपमै बजेटको आकार बढ्ने बताएका थिए । चालु आवमा ३८ अर्वको बजेट ल्याउने तयारी भए पनि सरकार परिवर्तनसँगै बजेटको आकार घटाएर ३० अर्वको बजेट ल्याइएको थियो । काँग्रेस नेतृत्वको गठबन्धनको सरकारले ल्याउन लागेको यो बजेट दोस्रोपटक हो ।
बजेटको तयारी एमाले सरकारले गरेको भए पनि नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गठबन्धन सरकारले गरेको हो । गण्डकी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ वटा मन्त्रालय छन् । सरकारमा काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसदको सहभागीता छ । राष्ट्रिय जनमोर्चा पार्टीको पनि सरकारलाई समर्थन रहेको छ । चालु वर्षको बजेट सरकारले जेठ २२ सम्म ४० प्रतिशत खर्च गरेको छ । खर्च हुन नसकेको बजेट र आन्तरिक स्रोत साथै आन्तरिक ऋण बढाएर सरकारले बजेटको आकार बढाउने तयारी गरेको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै, सरकारले नजिकिदै गरेको संघीय र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै सांसदलाई टाउको गनेर बजेट दिने तयारीसमेत गरेको छ । सत्तापक्षका सांसदलाई प्रतिसांसद ५ करोड र प्रतिपक्षी सांसदलाई एकमुष्ट ३५ करोड रुपैया“ दिन लागेको स्रोतले जनाएको छ । स्रोतका अनुसार सत्तापक्षका सांसदलाई ५ करोड बजेटको सिलिङभित्र रहेर योजना टिपाउन भनिएको छ । यसरी सांसदलाई बजेट वितरण गर्दा सत्तापक्षका सांसदलाई मात्रै १ अर्व ६० करोड रुपैयाँ छुट्याउनुपर्छ ।
गठबन्धन सरकारमा मन्त्रालय संख्या दोब्बर भएकाले पनि बजेटको आकार बढ्नुपर्ने अवस्थामा सरकार छ । अर्थ मन्त्रालयले बजेटको सिलिङ घटाएर दिएको भन्दै सरकारकै मन्त्रीले विरोध गरिरहदा सांसदलाई मात्रै ठूलो मात्रामा बजेट दिइने भएको हो । यो बजेट बाहेक प्रत्येक सांसदले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत पनि २ करोडका दरले खर्च गर्न पाउँछन् । सरकारको अन्तिम वर्षको बजेट अधिकाशं सांसदलेनै वितरण गर्ने भएका छन् । सांसदले बाढ्ने बजेट मात्रै २ अर्व ६७ करोड भन्दा बढी हुनेछ । जसपाको प्रतिनिधित्व गर्दै उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका हरिशरण आचार्यले खुलेरै बजेटको विरोध गरेका छन् । उनले मुख्यमन्त्रीको निर्देशनमा अर्थमन्त्रीले बजेट निर्माण गरेको आरोप लगाए । उनको गुनासो योजना बढाइरहदा बजेट घटाएकोप्रति छ ।
३० अर्वको बजेट ल्याउँदा ३ अर्व आफ्नो मन्त्रालयले बजेट पाएको बताउदै उनले बजेटको आकार बढाउदा मन्त्रालयको बजेट आकार घटेको बताए । उनले बजेट ल्याउन भन्दा पनि कार्यान्वयनमा समस्या हुने बताए । सरकारले मन्त्रालयका सम्बन्धित मन्त्रीसँग छलफल नगरि एकलौटी बजेट ल्याउन लागेको मन्त्री आचार्यको भनाई छ । उनले राजनीतिक वेइमानीको संज्ञा दिएका छन् । बजेट निर्माणमा समेत सहभागी नभएका आचार्य नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि संसदमा सहभागी थिएनन् । उनले मुख्यमन्त्री कार्यालयमै बजेट राखेर नयाँ योजना थप गर्न लागेको आरोप लगाए । ‘मन्त्री भएर मलाई नै थाहा छैन सरकारले कति बजेट ल्याउदै छ भन्ने’ उनले भने, ‘बजेट झ्यालबाट ल्याइदैछ । यता, प्रतिपक्ष दल एमाले पनि सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि थियो । बजेट निर्माणमा पनि सरकारले सकरात्म भूमिका नखेलेको एमालेले बताउदै आएको छ । अर्थमन्त्री बरालले अपराहन्न ४ बजे बजेट भाषणा गर्नेछन् ।
