नेपालका विभिन्न शहरबाट पहिलोपटक काठमाडौंका लागि उडान सुरु हुने भएको छ । मंगलबार बिहान धनगढी, नेपालगञ्ज, भैरहवा, पोखरा, जनकपुर र विराटनगरबाट बिहान ६ बजेपछि काठमाडौंका लागि धमाधम पहिलो उडान भए । नेपालको हवाई उडानको ७ दशक लामो इतिहासमा पहिलोपटक मोफसलबाट उडान गरिएको हो ।
काठमाडौं विमानस्थलस्थित आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालका अनुसार प्रदेशमा रहेका ती विमानस्थलबाट बुद्ध एयर, यति एयरलायन्स, श्री एयरलायन्स र गुण एयरलायन्सका जहाजले संघीय राजधानीका लागि पहिलो उडान भरेका थिए ।
काठमाडौंको आन्तरिक टर्मिनलमा न्यूनतम १७ देखि अधिकतम २४ वटाभन्दा बढी जहाज पार्किङका लागि स्थान नभएको कारण देखाउँदै नागरिक उड्डयन प्राधिकरणले नौ वटा वायुसेवा कम्पनीका र बाँकी विमानलाई मोफसलका विमानस्थलमा रात्रि बिसान (नाइट स्टप) गर्न वर्षौंदेखि निर्देशन दिँदै आएको थियो ।
तर, काठमाडौं बाहिरका विमानस्थलमा प्राविधिक सुविधा नभएको लगायत कारण देखाउँदै नौ वटा वायुसेवा कम्पनीले ५२ वटा जहाज काठमाडौंमै अव्यवस्थित पार्किङ गर्दै आइरहेका थिए ।
प्राधिकरणले हेलिकप्टरलाई गत मगंलबारदेखि र वायुसेवा (फिक्स्ड विङ) लाई सोमबारदेखि बाहिर जानै पर्ने बाध्यकारी नियम ल्याएको थियो ।
यो नियम लागू हुने दिन हेलिकप्टर अपरेटरले उक्त नियम नमान्ने जनाउँदै अनिश्चितकालीन आन्दोलन घोषणा गरेका थिए । सरकारले हवाई सेवा हड्ताल(निषेधित क्षेत्र भएकाले आन्दोलन गरे इजाजत पत्र नै खारेज गर्ने निर्णय गरेपछि वायुसेवा सञ्चालक संघमार्फत घोषणा गरिएको हड्ताल नौ घण्टापछि फिर्ता लिइएको थियो । नियमित उडान गर्ने वायुसेवाले भने प्राधिकरणले ल्याएको नियम मान्ने जनाउँदै त्यही दिन साँझ आन्दोलनबाट पछि हट्दै नियमित उडान गर्ने जनाएका थिए ।
हाल काठमाडौंबाट जाने र फर्किने गरी २ सय ६० हाराहारी आन्तरिक उडान हुने गरेका छन् ।
