गण्डकी प्रदेश सरकारले आथिक वर्ष २०७८-७९ को भुक्तानीको अन्तिम दिन असार २५ गते (एकै दिनमा) दुई अर्व बजेट खर्च गरेको छ । आवको पहिलो चौमासिक अर्थात चार महिनामा ८.३२ प्रतिशत खर्च गरेको प्रदेश सरकारले सो दिनमा ७.७९ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । सो दिनमा प्रदेश सरकारको २ अर्व ४४ करोड ४८ लाख ६० हजार रुपैयाँ खर्च भएको छ । असार २४ सम्म १९ अर्व ६४ करोड ९३ लाख १३ हजार (६२.६३ प्रतिशत) खर्च भएको छ ।
कार्यालयका अनुसार असार महिनामा मात्रै २६ प्रतिशत बजेट खर्च भएको छ । यस आवमा गण्डकी सरकारको कुल बजेटको खर्च प्रतिशत ७०.४२ रहेको छ । यो गत आर्थिक वर्षको भन्दा ३ प्रतिशत कम हो । प्रदेश लेखा नियन्त्रक केशवराज ढकालले बजेट खर्चमा उल्लेखनीय प्रगति भने हुन नसकेको बताए । ‘८० प्रतिशत खर्च गर्न सकिन्छ की भन्ने थियो’ उनले भने, ‘के मिलेन के ।’ जेठ २२ मा ४० प्रतिशत खर्च गरेको सरकारले जेठ मसान्तसम्म ४४.७२ प्रतिशत खर्च गरेको छ । चालु आवको कुल बजेट ३१ अर्व ३७ करोड ३६ लाख ८५ हजारमध्ये २२ अर्व ९ करोड ४४ लाख १६ हजार खर्च भएको कार्यालयले जनाएको छ ।
सरकारले २०७८ असार १ मा प्रस्तुत गरेको कुल बजेट ३० अर्व ३ करोड ९४ लाख २७ हजार हो । संघिय सरकारबाट प्राप्त ससर्त अनुदान जोडेर कुल बजेट ३१ अर्व पुगेको कार्यालय प्रमुख ढकालले जानकारी दिए । यस्तै, कार्यालयको अनुसार कुल चालु बजेट १२ अर्व ६० करोड ४२ लाख १० हजारमध्ये ७ अर्व ६३ करोड १५ लाख ९१ हजार ९ सय ७२ (६०.५५ प्रतिशत) खर्च भएको छ । पुजिँगतको कुल बजेट १८ अर्व ५२ करोड ९४ लाख ७५ हजारमा खर्च १४ अर्व ४६ करोड २८ लाख २४ हजार ३ सय ४३ (७८.१) प्रतिशत रहेको छ । महालेखापरीक्षकको कार्यालयले असार २४ गते भुक्तानी प्रणली बन्द गरे पनि प्रदेश लेखा कार्यालयले असार २५ सम्म भुक्तानी गरेको थियो । ‘इन्ट्री भएका फाइल भुक्तानी २५ गतेसम्म गरेका थियौ’ कार्यालयका अधिकृत (छैठौ) हरिप्रसाद रेग्मीले भने, ‘सामाजिक विकास मन्त्रालय र कृषि ज्ञान केन्द्रका केही फाइल रोकिए भन्नुभएको छ तर, हामीले सफ्टवरमा आएका सवै फाइल भुक्तानी गरिसकेका छौ ।’
उनले सवै जिल्लाको बजेट खर्च र राजस्व संकलनको तथ्यांक माग गरिएको बताए । अर्थ मन्त्रालयका सचिव वैकुण्ठप्रसाद अर्यालले बजेटको ठूलो हिस्सा भौतिक पूर्वाधारमा रहेको बताए । भौतिक पूर्वाधारमा भएको बजेट खर्चले नै सरकारको बजेट खर्च बढाउने बताउदै उनले अन्य प्रदेशको तुलनामा गण्डकीमा बजेट खर्च राम्रो रहेको दावी गरे । ‘विकास खर्च चित्त बुझ्दो नै छ’ उनले भने, ‘बरु चालु खर्च बढाउन सकेनौ । जनशक्ति पूर्ति नहुदाँ (तलव–भत्ताको) बजेट खर्च हुन सकेन । कोभिड कोषमा १ अर्व राखेका थियौ । उक्त बजेट पनि खर्च गरेनौ । वित्तिय व्यवस्थापनतर्फ छुट्याएको २४ करोड रुपैयाँ पनि खर्च भएन । जसका कारण समग्ररुपमा हेर्दा बजेट खर्च नराम्रो भन्न मिल्दैन ।’
