मुस्ताङमा करिव ७ हजार टन स्याउ उत्पादन

Share this post :

Facebook
Twitter
WhatsApp

चालु आर्थिक वर्ष मुस्ताङमा करिव ७ हजार टन (६६ सय मेट्रिक टन) स्याउ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार गतवर्षको तुलनामा यसवर्ष १ हजार ३३ मेट्रिक टन अर्थात १८ दशमलव ५६ प्रतिशतले स्याउ उत्पादन वृद्धि भएको छ । गतवर्ष ५ हजार ५ सय ६४ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।
जिल्लाका विभिन्न किसानको बगैचामा पुगेर सर्वेक्षण गरिएको तथ्यांकमा यसवर्ष स्याउको उत्पादन वृद्धि भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार क्रप कटिङ विधि र जिल्लाका स्थानीय स्याउ किसानसँग सोधपुछ गरी स्याउ उत्पादनको तथ्यांक तयार गरिएको हो । आव २०७९/८० मा ५ सय ८० हेक्टर जमिनमा लगाइएको स्याउ बोटमा उक्त परिमाणमा स्याउ उत्पादन भएको हो । मुस्ताङका ५ वटै स्थानीय तहमा गरी १ हजार ४ सय ७५ हेक्टर जमिनमा स्याउ खेती गरिएको छ ।
मुस्ताङका ५ स्थानीय तहमध्ये सबैभन्दा बढी स्याउ उत्पादन घरपझोङ गाउँपालिकामा हुन्छ । त्यसपछि वारागुङ मुक्तिक्षेत्रमा स्याउ उत्पादन हुने गरेको छ । मुस्ताङमा सबैभन्दा बढी क्षेत्रफलमा स्याउ खेती विस्तार भएको स्थानीय तह वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको हो भने सबैभन्दा कम क्षेत्रफलमा स्याउ विस्तार भएको पालिका लोमान्थाङ छ ।
जिल्लामा उत्पादन हुने ५ सय ८० हेक्टर जमिनको उत्पादनशील स्याउ बगैचाको क्रप कटिङ सर्वेक्षण गर्दा जिल्लामा प्रतिहेक्टर जमिनमा ११ दशमलव ३७ मेट्रिक टन स्याउ उत्पादन हुन्छ । कुल उत्पादनमध्ये यसवर्ष ४ सय ४० मेट्रिक टन उच्च घनत्व प्रविधिमा आधारित स्याउ छ । मुस्ताङको १ हजार ४ सय ७५ हेक्टर स्याउ उत्पादन क्षेत्रमध्ये ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती विस्तार भएको छ ।
जसमध्ये २२ हेक्टर क्षेत्रफलमा लगाइएको उच्च घनत्व प्रविधिमा आधारित स्याउका बोटले उत्पादन दिने गरेको कृषि ज्ञान केन्द्रले उल्लेख गरेको छ । उच्च घनत्व प्रविधिमा आधारित प्रति हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटमा करिब २० टनसम्म स्याउ उत्पादन हुने गरेको छ । किसानले स्याउ बगैँचा व्यवस्थापनमा ध्यान दिने र अनुकूल मौसमका कारण उत्पादन बढेको कार्यालयको बुझाई छ ।
पछिल्लो वर्ष किसान परम्परागत जातका स्याउभन्दा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेतीतर्फ आर्कर्षित छन् । संघीय तथा प्रदेश सरकार अनुदानमा मुस्ताङका किसानलाई सहुलियत दरमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ बिरुवा उपलब्ध गराइपछि स्याउ उत्पादनको क्षेत्रफल वृद्धि हुन थालेको छ कार्यालयले बताएको छ । मुस्ताङमा स्याउ जोन कार्यक्रममा १२५ सहकारी, समूह र निजी फर्म आवद्ध छन् । कृषि ज्ञान केन्द्र मुस्ताङले स्याउ बिशेष कार्यक्रमका साथै स्याउ ब्लक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । यहाँ उत्पादित स्याउ ७० प्रतिशत जिल्ला बाहिर जान्छ । किसान स्याउ नपाक्दै व्यापारी स्याउ खरिदको लागि जिल्लामा नै आउने हुदाँ बढी स्याउ जिल्लाभित्रै खपत हुने कृषक बताउँछन् । किसानका अनुसार व्यापारी स्याउ नपाक्दै साउन, भदौमा नै मुस्ताङ उक्लिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *