गण्डकी प्रदेशमा अदुवाको माग बढ्दो छ । यहाँ उत्पादित अदुवा पछिल्लोसमय विदेशमा निर्यात हुन थालेपछि माग बढेको हो । गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्यांक अनुसार यहाँ उत्पादिन अदुवाको मुख्य बजार भारत हो ।
भारत हुदै नेपाली अदुवा विश्व बजारमा निर्यात गरिने मन्त्रालयका प्रवक्ता ग्रिष्म न्यौपानेले जानकारी दिए । मन्त्रालयको तथ्यांक अनुसार गण्डकीमा आर्थिक वर्ष २०७७÷७८ मा ३ हजार १ सय ५६.५० हेक्टर क्षेत्रफलमा ३८ हजार १ सय २.९० मेट्रिकटन अदुवा उत्पादन भएको छ । यस्तै, आर्थिक वर्ष २०७८÷७९ मा ३ हजार २ सय ४६.६३ हेक्टर क्षेत्रफलमा ३८ हजार ७ सय २६.२४ मेट्रिकटन अदुवा उत्पादन भएको छ । अदुवा खेतीका लागि समुन्द्र सहतबाट ६ सयदेखी १ हजार ६ सय मिटरको उचाईसम्म मध्यपहाडी भू–भाग उपयुक्त हुन्छ । यस प्रदेशका पूर्वी नवलपुर, तनहँु, कास्की, बाग्लुङ, गोरखा, लमजुङ र स्याङ्जा अदुवा उत्पादन हुने प्रमुख जिल्ला हुन् । मन्त्रालयका अनुसार पछिल्ला वर्षमा अदुवाबाट बनाइने जुसको माग बढ्दै गएको छ ।
यस्तै, क्याण्डी, बास्नादार तेल तथा स्याम्प्यूमा पनि अदुवाको प्रयोग हुने गरिन्छ । आयूर्वेदिक औषधी तथा श्रृंगारको सामान बनाउन पनि यसको प्रयोग हुन थालेपछि माग पनि बढ्दै गएको मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता न्यौपाने भन्छन, ‘गण्डकी प्रदेशबाट निर्यातको उच्च सम्भावना बोकेको मसलाबालीको रुपमा अदुवालाई लिइन्छ । हाम्रो प्रदेशमा अदुवा उत्पादनको अवस्था उच्च रहेको छ ।’ उनले प्रदेशका ९ जिल्लामा करिव ४ हजार हेक्टर जमिनमा अदुवा खेती हुने बताएका छन् । उनका अनुसार जिल्लागत रुपमा हेर्दा नवलपरासी पूर्व, कास्कीमा अदुवा खेती उच्च छ ।
‘अदुवा उत्पादनलाई प्रवद्र्धन गरि गुणस्तरीय उत्पादन गर्न सके अदुवा निर्यातको उच्च सम्भावना छ’ उनले थपे । मन्त्रालयले बताए अनुसार अदुवाबाट क्यान्डी, अचार, सर्वत, पेष्ट, सुठो, पाउडर तेल बनाइन्छ ।
अदुवा खास गरेर मसलाको रुपमा प्रयोग गरिन्छ । आयूर्वेदिक औषधी, विस्कुट, केक, पाउरोटी, बियर, मदिरा आदीमा पनि अदुवाको प्रयोग हुने गर्दछ । खोकी लागेको, रुघा लागेको, अपच, निमोनियाँ, स्वासको समस्या, पेट दुखेको, स्वर बसेको, जोर्नी दुखेको लगायतका समस्याको निदानका लागि अदुवालाई औषधीका रुपमा प्रयोग स्याङ्जाका अदुवा कृषक मोतिकृष्ण पौडेलले बताए । ‘थोरैधेरै घरमा उत्पादन हुने भएकाले हामीले महत्व बुझेका छैनौ’ कृषक पौडेल भन्छन, ‘जव यसको महत्व बुझिन्छ तव यसको माग बढ्छ ।’ उनले अघिल्ला वर्षमा उत्पादित अदुवा घरमा नै कुहिएर खेर जाने गरेको बताउदै पछिल्लो दुई वर्ष अदुवाको बजार बढ्दै गएको बताए ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८-७९ मा नेपालबाट १६ करोड ५७ लाख ६६ हजार २ सय ६२ रुपैयाँ बराबरको अदुवा निर्यात भएको छ । जसमा भारतमा मात्र १६ करोड ४६ लाख ५८ हजार ८ सय रुपैयाँ बराबरको अदुवा निर्यात भएको तथ्यांक छ । यस्तै बंगलादेश र कतारमा समेत अदुवा बार्षिकरुपमा निर्यात हुदै आएको छ । चीन, नेदरल्याण्ड, थाईल्याण्ड, पेरु, ब्राजिल तथा जर्मनीसमेत नेपालको अदुवाको अन्र्तराष्ट्रिय बजार हुन् । अदुवा उत्पादनका लागि मन्त्रालयले स्टोरेज एवं संकलन केन्द्रको स्थापना गर्न जरुरी रहेको बताएको छ । मन्त्रालयमा बुझाइएको एक प्रतिवेदनका अनुसार ब्राण्डिङ, लेवलिङ र प्याकेजिङ्गको व्यवस्था, गुणस्तर प्रमाणीकरणको लागि अन्तराष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाको स्थापना, उचित किसिमको ढुवानीको व्यवस्था, आवश्यकता अनुसार धुलाइ/ड्राइङ्ग केन्द्र स्थापना, मुल्य श्रृंखलामा जोड, बजार अध्ययन/अनुसन्धान गर्नुपर्ने, भौतिक पुर्वाधारको विकास सडक विद्युत पानी आधुनिक औजर, कृषकलाई प्राविधिक सहयोग, तालीम, ढुवानी, व्याजदर, औजार, औषधी आदिमा सहयोग र निर्यातकर्तालाई प्रोत्साहनको आवश्यकता औल्याएको छ ।