६ विकास बैंक र ४ फाइनान्स कम्पनी कारबाहीमा परेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको मापदण्ड पूरा नगरेका यी १० कम्पनीलाई नियामक नेपाल राष्ट्र बैंकले कारबाहीस्वरुप जरिवाना तिराएको बताइएको छ । राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट र सप्तकोसी विकास बैंकलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगर्दा कारबाहीस्वरुप जरिवाना गरिएको हो ।
त्यस्तै सालपा विकास बैंक र कर्णाली विकास बैंकलाई अनिवार्य मौज्दात अनुपात कायम गरेका थिएनन् । विपन्न वर्गको कर्जा शिर्षकमा पनि मापदण्ड पूरा नगरेपछि कर्णाली विकास बैंक थप जरिवानामा परेको छ । त्यस्तै फाइनान्स कम्पनीहरुमा नेपाल, जानाकी र समृद्धिलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगर्दा जरिवाना गराइएको छ । प्रोग्रेसिभ फाइनान्सलाई भने अनिवार्य मौज्दात अनुपात कायम नगर्दा जरिवाना गराइएको राष्ट्र बैंकले जनाएको छ ।