गण्डकीमा १० प्रतिशतले बढ्यो सुन्तला उत्पादन

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशमा यसवर्ष सुन्तला उत्पादन १० प्रतिशतले बृद्धि भएको छ । गतवर्षको तुलनामा यसवर्ष १० प्रतिशतले सुन्तला उत्पादन बृद्धि भएको गण्डकी प्रदेश कृषि निर्देशनालयको तथ्यांक छ । निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा ५५ हजार ९ सय ३५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । गण्डकीमा ८ हजार ३ सय ४२ हेक्टर क्षेत्रफलमा सुन्तला लगाइएको छ भने, ५ हजार ४ सय ५७ हेक्टर जमिन सुन्तलाको लागी उत्पादनशील मानिन्छ । किसानले पाउने प्रतिकिलो ५० रुपैयाँको दरले चालु आवमा २ अर्व ७९ करोड ६७ लाख ५० हजार बराबरको सुन्तलाको कारोबार भएको निर्देशनालयकी कृषि अर्थ विज्ञ शशी अधिकारीले जानकारी दिइन् ।
कार्यालयका अनुसार गतवर्ष ५० हजार ८ सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । गतवर्ष २ अर्व ३४ लाखको सुन्तलाबाट आम्दानी भएको छ । गतवर्षको तुलनामा सुन्तला खेतीको लागि यसवर्ष ३ सय ९७ हेक्टर बृद्धि भएको छ । यस्तै, २ सय ६० हेक्टर उत्पादनशील जमिन बृद्धि भएको छ । जुन ५ प्रतिशतले बढी हो । गत वर्षसम्म जम्मा ७ हजार ९ सय ४५ हेक्टरमा सुन्तला खेती हुँदै आएको निर्देशनालयले जनाएको छ । सुन्तला खेतीले धेरै ठाउँ ओगटे पनि उत्पादन क्षेत्र भने कम रहेको अधिकारीले बताइन् । मनाङ र मुस्ताङ बाहेक गण्डकीमा ९ जिल्लामा सुन्तला खेती हुन्छ । सवैभन्दा धेरै सुन्तला उत्पादन स्याङ्जामा भएको छ । कार्यालयले दिएको तथ्यांक अनुसार स्याङ्जामा १५ हजार १ सय ८० मेट्रिकटन अर्थात् ७ करोड ५९ लाख बराबरको सुन्तला उत्पादन भएको छ । यो देशमै सवैभन्दा बढी सुन्तला उत्पादन हुने जिल्ला हो । यसैगरी, सवैभन्दा कम सुन्तला उत्पादन लमजुङमा ७ सय १५ मेट्रिकटन भएको छ । यसैगरी, धेरै उत्पादन हुने जिल्लामध्ये तनहुँ दोस्रोमा पर्दछ । यहाँ १२ हजार ५ सय ४० मेट्रिकटन अर्थात् ६ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ । कास्कीमा ८ हजार ३ सय ७१, गोरखामा ६ हजार १ सय ४६, पर्वतमा ४ हजार ४ सय, बागलुङमा ४ हजार १५, म्याग्दीमा ३ हजार ६ सय ९३ र नवलपुरमा ८ सय ७५ टन सुन्तला उत्पादन भएको छ ।
निर्देशनालयका अनुसार स्याङ्जामा २ हजार ६७, तनहुँमा १ हजार ७ सय १२, गोरखामा १ हजार ८२, कास्कीमा ८ सय ९४, पर्वतमा ८ सय ७२, म्याग्दीमा ७ सय ८०, बागलुङमा ६ सय २२, लमजुङमा १ सय ७२ र नवलपुरमा १ सय ४२ हेक्टरमा सुन्तला खेती हुन्छ । सुन्तलाको क्षेत्र वर्षेनी विस्तार हुदै आएको निर्देशनालयले जनायो । स्याङ्जामा करेन्डाँडा, जैसीडाँडा, मनकामना, राङखोला, बगालथोक, भीरकोट, अर्जुनचौपारी, एलादी, तनहुँमा म्याग्दै गाउँपालिका, गोरखामा शहीद लखन गाउँपालिका सुन्तला खेतीको लागि पकड क्षेत्र मानिन्छन् । यहाँ उत्पादीत सुन्तलाको मुख्य बजार पोखरा हो । त्यसपछि बुटवल र काठमाडौं पनि पुग्ने अधिकारीले बताइन् । ‘सीमा जिल्लाका मुख्य बजारसँगै स्थानीय बजारमा पनि राम्रो विक्री हुन्छ’ उनले भनिन, सुन्तलाको लागि खुद्रा भन्दा बोटमै ठेक्का लगाउन प्रचलन बढी हुन्छ ।’ पछिल्लोसमय सुन्तला बगैँचाको व्यवस्थापन राम्रो गरेकै कारण उत्पादन बृद्धि भएको अधिकारी बताउँछिन् । ‘यसवर्ष मौसमले पनि साथ दियो’ उनले भनिन, ‘किसानको पनि मेहेनत हो । सवैकुरा मिलेमा नै उत्पादन बृद्धि हुने हो ।’ नयाँ बोटले फल दिन थाल्नु, उत्पादन क्षेत्र विस्तार, बगैँचाको सही व्यवस्थापन जस्ता कारणले सुन्तला उत्पादनमा वृद्धि हुने स्याङ्जाको भीरकोट नगरपालिकाका सुन्तला कृषक मीनप्रसाद कोइराला बताउँछन् । बिगतका वर्षमा भन्दा यसवर्ष सुन्तला उत्पादन बढेको किसानले स्वंम बताएका छन् । फागुनको महिनासम्म सुन्तला बोटम नै रहने कोइरालाको भनाई छ । यहाँका पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । सुन्तला बेचेर यहाँका किसानले बर्षेनि मनग्ये आम्दानी गर्छन् । सुन्तला नै पछिल्लोसमय आम्दानीको मुख्य स्रोत बनेको स्याङ्जाका अर्का सुन्तला कृषक तोयानाथ लामिछाने बताउँछन् । उनका अनुसार सुन्तलामा किराको प्रकोप, कलमी बिरुवाको अभाव, बगैँचा व्यवस्थापन, सुन्तला टिप्नेदेखि, सुरक्षित भण्डारण र ढुवानी, बजारको अभाव सुन्तला किसानका मुख्य समस्या हुन् । सुन्तला खेती विस्तार र व्यवसायीकरणका लागि प्रदेश सरकारले सुन्तला ‘सुपर जोन’, ‘जोन’, ‘पकेट’ र ‘ब्लक’ कार्यक्रम सञ्चालित गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *