पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर सडकखण्डको पुनर्निर्माण कार्य करिब ९० प्रतिशत सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालका अनुसार कृष्णभीरको करिब २७० मिटर नवनिर्मित सडकखण्डमा कटिङ, ग्राभेलिङ तथा सब–सर्फेस ड्रेनेज निर्माणको काम सम्पन्न भएको हो।
बाँकी रहेको सब–बेस निर्माणको काम पनि बुधबार बेलुकासम्म सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको मन्त्री लम्सालले जानकारी दिएका छन्। निर्माण कार्यलाई रातिसमेत निरन्तरता दिन आवश्यक स्थानमा फ्लड लाइटको व्यवस्था गरिएको छ।
कृष्णभीरमा निर्माणाधीन सडकको काम अन्तिम चरणमा पुगेसँगै असोज १ गतेदेखि सबै प्रकारका सवारीसाधनका लागि दुईतर्फी यातायात सञ्चालन गरिने भएको छ।
भोटेकोशी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा नयाँ ट्र्याक निर्माण गरी सडक सञ्चालनमा ल्याउने काम अघि बढाइएको हो। यसअघि नयाँ ट्र्याकमा केही सवारीसाधन पास गराएर परीक्षणसमेत गरिएको थियो।
कृष्णभीर क्षेत्र अझै जोखिमयुक्त रहेकाले यातायात सञ्चालनसँगै सडकको सुरक्षा तथा आवश्यक प्राविधिक कामलाई निरन्तरता दिइने जनाइएको छ।