समाचार

संविधानका उपलब्धिमाथि हुने प्रहार स्वीकार्य हुँदैन : प्रचण्ड

शेयरfFacebook𝕏XWhatsAppTelegram

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारमाथि हुने कुनै पनि प्रहार वा पछाडि फर्काउने प्रयत्न स्वीकार्य नहुने बताएका छन्।

संविधान दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले संविधानका मूल्य र जनअधिकारलाई कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

उनले नेपालको संविधान केवल कानुनी दस्तावेज नभई नेपाली जनताको दशकौँ लामो संघर्ष, जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायत विभिन्न आन्दोलन, त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको उल्लेख गरेका छन्।

२०७२ असोज ३ गते संविधानसभाबाट जारी भएको संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा संस्थागत गर्दै सार्वभौमसत्ता नेपाली जनतामा निहित गरेको उनले बताएका छन्। संविधानले नागरिकका मौलिक अधिकार, सामाजिक न्याय, समानुपातिक समावेशिता, संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, स्वशासन तथा लोकतान्त्रिक मूल्य–मान्यतालाई संस्थागत गरेको उनको भनाइ छ।

संविधान जारी भएको ११ वर्षको अवधिमा महत्वपूर्ण उपलब्धि हासिल भए पनि संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन अझै पूरा हुन बाँकी रहेको प्रचण्डले बताएका छन्। संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु अहिलेको मुख्य दायित्व भएको उनले उल्लेख गरेका छन्।

प्रचण्डले मुलुक गम्भीर राजनीतिक परिस्थितिबाट गुज्रिरहेको भन्दै संविधानका मूल्य, जनअधिकार र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षणमा जोड दिएका छन्।

यस्तै, नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि उत्पन्न हुन सक्ने चुनौतीप्रति सबै सजग हुनुपर्ने उनले बताएका छन्। राष्ट्रिय हितको रक्षा कुनै एउटा दल वा शक्तिको मात्र नभई सम्पूर्ण नेपालीको साझा दायित्व भएको उनको भनाइ छ।

राजनीतिक परिवर्तनलाई आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन्। संविधानका अक्षर मात्र नभई यसको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्ने उनले बताएका छन्।

संविधान दिवसको अवसरमा प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

0 comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *