विजनेश

EDLVRS बाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु, पहिलो चरणमा मधेशका ३ हजार ८१ लाइसेन्स

शेयर गर्नुहोस् f 𝕏
विज्ञापन स्थान

सरकारले विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (EDLVRS) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ। नयाँ प्रणालीअन्तर्गत पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालका अनुसार EDLVRS प्रणालीबाट सेवाग्राहीको विवरण विद्युतीय माध्यमबाटै सुरक्षण मुद्रणमा पुग्ने व्यवस्था गरिएको छ। सुरक्षण मुद्रणले प्राप्त विवरणका आधारमा लाइसेन्स छपाइ गरेपछि हुलाक सेवामार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था मिलाइएको हो।

यसअघि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणमा ढिलाइ हुने, छपाइका लागि विवरण पठाउने तथा लाइसेन्स सम्बन्धित कार्यालयसम्म पुर्‍याउने प्रक्रियामा समय लाग्ने लगायतका समस्या देखिँदै आएका थिए। नयाँ प्रणाली लागू भएपछि यी प्रक्रियालाई डिजिटल माध्यमबाट जोडेर लाइसेन्स छपाइ तथा वितरणलाई थप व्यवस्थित बनाउने सरकारको अपेक्षा छ।

मन्त्री लम्सालले EDLVRS ले नयाँ लाइसेन्स लिने सेवाग्राहीसँगै पुरानो लाइसेन्स नवीकरण गर्ने सेवाग्राहीलाई समेत सहज हुने बताए। उनका अनुसार प्रणालीमा सेवाग्राहीको विवरण अपलोड भएपछि सो विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने भएकाले बीचका प्रक्रियामा लाग्ने समय घट्नेछ।

पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइसकिएको मन्त्री लम्सालले जानकारी दिए। कार्यालयमा लाइसेन्स प्राप्त भएपछि सम्बन्धित सेवाग्राहीलाई वितरण गरिनेछ।

सरकारले EDLVRS लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लैजाँदा देशभर सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणमा देखिँदै आएको समस्या क्रमशः समाधान हुने विश्वास लिएको छ। नयाँ प्रणालीले लाइसेन्ससम्बन्धी सेवा प्रक्रियालाई छिटो, सहज, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ।

विज्ञापन स्थान
लेखक परिचय

प्रतिपत्र

प्रतिपत्रका लेखकद्वारा प्रकाशित समाचार तथा सामग्री।

सबै समाचार हेर्नुहोस् →