समाचार

दुग्ध विकास संस्थानमा १२ करोडभन्दा बढी भ्रष्टाचार, तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा आर्थिक अनियमितता गरी संस्थालाई १२ करोड रुपैयाँभन्दा बढी हानि–नोक्सानी पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन्।

एकैदिन अवैध लागूऔषधसहित पाँच जना पक्राउ

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा आर्थिक अनियमितता गरी संस्थालाई १२ करोड रुपैयाँभन्दा बढी हानि–नोक्सानी पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूले पूर्वनियोजित योजना र मिलेमतोमा संगठित सञ्जाल बनाई विभिन्न समूह खडा गरेर संस्थानलाई प्रत्यक्ष आर्थिक हानि पुर्‍याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीहरूले गैरकानुनी रूपमा आर्थिक लाभ लिई संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको हानि–नोक्सानी पुर्‍याएको आरोप छ।

प्रारम्भिक अनुसन्धानका क्रममा गैरकानुनी लाभ लिएको पुष्टि हुने आधार भेटिएपछि मुलुकी अपराध संहिता, २०७४ को आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

सम्मानित काठमाडौं जिल्ला अदालत बबरमहलबाट पक्राउ अनुमति लिएर २०८३ कात्तिक १३ गते विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा :

1\. सर्लाहीको बलरा नगरपालिका–३ स्थायी घर भई काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्दै आएका ४५ वर्षीय सञ्जीव झा। उनी डीडीसीका तत्कालीन महाप्रबन्धक तथा हाल संस्थानको प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत थिए। उनलाई काठमाडौंको कान्तिपथबाट पक्राउ गरिएको हो।

2\. सिरहाको सिरहा नगरपालिका–७ स्थायी घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–४ बस्ने ४६ वर्षीय विजयकुमार यादव। उनी तत्कालीन सिम्ले चिस्यान केन्द्रका इन्चार्ज तथा हाल काठमाडौं दूध वितरण आयोजना बालाजुमा कार्यरत थिए। उनलाई बालाजुबाट पक्राउ गरिएको हो।

3\. पर्वतको मोदी गाउँपालिका–४ स्थायी घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्ने ५४ वर्षीय मनहरी शर्मा। उनी तत्कालीन भक्तपुर चिस्यान केन्द्रका इन्चार्ज तथा हाल डीडीसी केन्द्रीय कार्यालयमा कार्यरत थिए। उनलाई पोखरा महानगरपालिका–१४, कास्कीबाट पक्राउ गरिएको हो।

4\. सर्लाहीको मोहोनपुर गाउँपालिका–५ स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका–५ कल्याणपुर बस्ने ४९ वर्षीय रामकेवल राय। उनी तत्कालीन चनौली चिस्यान केन्द्रका इन्चार्ज तथा हाल काठमाडौं दूध वितरण आयोजना संकलन केन्द्रमा कार्यरत थिए। उनलाई सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ बाट पक्राउ गरिएको हो।

5\. सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका–५ कल्याणपुर बस्ने २८ वर्षीय जितेन्द्रकुमार यादव। उनी बागमती धुलो दूध कारखाना, हेटौँडामा कार्यरत कर्मचारी हुन्। उनलाई भरतपुर महानगरपालिका–५ आनन्दपुरबाट पक्राउ गरिएको हो।

6\. सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ स्थायी घर भई ३२ वर्षीय नवीन राय यादव। उनी डेरी क्याफे पदका कर्मचारी तथा नवलपुर/गैंडाकोट चिस्यान केन्द्रका इन्चार्ज हुन्। उनलाई सर्लाहीको लालबन्दी नगरपालिका–५ मेजरगञ्जबाट पक्राउ गरिएको हो।

7\. सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ स्थायी घर भई चितवनको माडी नगरपालिका–२ बस्ने ४६ वर्षीय शिवनन्दन राय। उनी दैनिक पारिश्रमिक पदका कर्मचारी तथा माडी चिस्यान केन्द्रमा कार्यरत थिए। उनलाई माडी नगरपालिका–१ बरुवा, चितवनबाट पक्राउ गरिएको हो।

8\. सिन्धुपाल्चोकको कालिका गाउँपालिका–७ स्थायी घर भई ४६ वर्षीय विश्वबहादुर भण्डारी। उनी जुनियर टेक्निकल असिस्टेन्ट तथा चिस्यान केन्द्र इन्चार्जका रूपमा कार्यरत थिए। उनलाई चितवनको माडी नगरपालिका–१ बाट पक्राउ गरिएको हो।

प्रहरीले पक्राउ परेका सबैमाथि आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित समाचार