पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग निकट सम्बन्ध रहेको भनिएका झापाका युवा इनम सापकोटाले प्रहरी हिरासतमा दिएको अडियो बयानमा न्यायिक, राजनीतिक तथा व्यावसायिक क्षेत्रका प्रभावशाली व्यक्तिहरूको नाम लिँदै करोडौँ रुपैयाँको आर्थिक कारोबारबारे दाबी गरेका छन्।
हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका सापकोटाले विभिन्न मुद्दा मिलाउनेदेखि राजनीतिक विवादमा आर्थिक लेनदेन भएको दाबीसम्मका विषय बयानमा उल्लेख गरेका छन्।
गत असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सापकोटाले दिएको भनिएको अडियो बयानमा काठमाडौं जिल्ला अदालतमा विचाराधीन एउटा मुद्दा मिलाउन तीन करोड रुपैयाँको डिल भएको र नेपाली कांग्रेसको आधिकारिकता विवादमा १८ करोड रुपैयाँको कारोबार भएको दाबी गरिएको छ।
उनको बयानमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ प्रभुशमशेर जबरा, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, कांग्रेसका पूर्वकोषाध्यक्ष उमेश श्रेष्ठ, नेता दीपक खड्का तथा सर्वोच्च अदालतकी न्यायाधीश सारंगा सुवेदीलगायतको नाम उल्लेख भएको छ।
सापकोटाले आफू विभिन्न प्रभावशाली व्यक्तिहरूसँग व्यावसायिक साझेदारीमा रहेको, उनीहरूमार्फत रकम परिचालन गरेको र न्यायिक तथा राजनीतिक विषयमा आर्थिक लेनदेन भएको दाबी गरेका छन्।
तीन करोडको डिलमा जबरा र गुरुङको नाम
सापकोटाको बयानमा सबैभन्दा गम्भीर रूपमा उठाइएको विषय काठमाडौं जिल्ला अदालतमा विचाराधीन एउटा मुद्दा मिलाउने भनिएको तीन करोड रुपैयाँको कारोबार हो ।
उनले ललितपुरको कुपण्डोलस्थित हिमालयन होटलका अध्यक्ष नवीन तुलाधरमार्फत अदालतमा विचाराधीन मुद्दाको सेटिङका लागि २० लाख रुपैयाँ आएको बताएका छन्। उक्त प्रकरणमा कुल तीन करोड रुपैयाँको डिल भएको उनको दाबी छ ।
उनका अनुसार उक्त रकम पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका लागि गएको थियो। साथै, उक्त पैसा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसम्म पुगिसकेको पनि उनले बयानमा उल्लेख गरेका छन्।
सापकोटाले प्रभुशमशेर जबरामार्फत आएको रकम भाटभटेनी हुँदै परिचालन भएको दाबीसमेत गरेका छन्। मीनबहादुर गुरुङ र प्रभुशमशेर जबरा आफूहरूसँग व्यावसायिक साझेदारीमा रहेको उनको भनाइ छ।
उनको बयानमा उल्लेख भएका आर्थिक कारोबार, न्यायिक सेटिङ तथा विभिन्न व्यक्तिहरूको संलग्नताबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ। नाम जोडिएका व्यक्तिहरूको प्रतिक्रिया र प्रहरी अनुसन्धानबाट मात्रै यी दाबीको वास्तविकता स्पष्ट हुनेछ ।





