जटिल प्रसूति समस्यामा परेकी बाजुराकी एक २० वर्षीया महिलाको हवाई उद्धार गरिएको छ। उनलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको छ।
राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएको हो।
बाजुराको बुढीनन्दा नगरपालिका–१ निवासी महिलालाई मंसिर ९ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको मन्त्रालयले जनाएको छ।
दुर्गम तथा स्वास्थ्य सेवाको सहज पहुँच नभएका क्षेत्रका गर्भवती र सुत्केरी महिलालाई समयमै उपचारको पहुँचमा पुर्याउने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
जोखिमपूर्ण प्रसूति अवस्थाबाट आमा र शिशुको जीवन रक्षा गर्नुका साथै मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा सहयोग पुर्याउने कार्यक्रमको मुख्य लक्ष्य रहेको छ।





