रुपामा किसानलाई सहुलियत कर्जा

Share this post :

Facebook
Twitter
WhatsApp
तस्बिर पनि छ ।
किसानलाई सहुलियत कर्जा उपलब्ध गराउनको लागि कास्कीको रुपा गाउँपालिकाले ग्रीन डेभलपमेन्ट वैंकसंग हस्ताक्षर गरेको सम्झौतापत्र आदानप्रदान गर्दै गाउँपालिका अध्यक्ष नवराज ओझा र वैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठ, कार्यकारी अधिकृत उमेशकुमार आचार्य लगायत । तस्बिर प्रतिपत्र ।

प्रतिपत्र संवाददाता (पोखरा)
वित्तिय संस्थाबाट ऋण लिएर २६ प्रतिशत व्याज तिर्न बाध्य भएका रुपा गाउँपालिकाका किसानलाई अवदेखी गाउँपालिकाले सहुलियत कर्जा दिने भएको छ । किसानले साढे ४ प्रतिशतको दरमा सहुलिय कर्जा पाउनेछन् । गाउँपालिकाले ग्रीन डेभलपमेन्ट बैंकसंग एक कार्यक्रमबीच सम्झौता गरेपछि किसानले यो अवसर पाउने भएका हुन् ।
चर्को व्याजको मारमा परेका किसानलाई गापाले गाउँमै सहुलियत कर्जा दिने भएपछि किसान खुशी बनेका छन् । ‘यो अभियान राम्रो छ’ रुपा ७ का इन्द्रेणी कृषक समूहका संयोजक विश्वराज न्यौपानेले भने, ‘कतिय प्रकृया हामीले नबुझेका हुन सक्छौ तर, यो कार्यक्रमबाट व्यवसायीक कृषक प्रत्यक्ष लाभान्वित बन्नेछन् ।’ इन्द्रेणी समुहले दुग्धजन्य वस्तु उत्पादन गर्छ । सुरुको चरणमा ७० लिटर दुध उत्पादन गरेको यस समुहले हाल दैनिक २ सय लिटर दुध उत्पादन गर्ने न्यौपानले बताए । उनका अनुसार समुह ३८ जनाको छ । १ करोड ८४ लाखको लगानीमा व्यवासाय शुरु गरेको थियो । समुहमा कसैको धितो र कसैको विनाधितो ऋण लिएको संयोजक न्योपानेले बताए ।
यसभन्दा अघि गापाले भकारो सुधार कार्यक्रम पनि ल्याएको थियो । गाउँपालिका अध्यक्ष नवराज ओझाले ७० लाखको युवा स्वरोजगार कोषको समेत स्थापना गरिएको बताए । गापाले चालुबर्ष कृषिमा डेढ करोड विनियोजन गरेको बताउदै अध्यक्ष ओझाले भने, ‘यो बर्ष हाम्रो कृषिबर्ष हो । हामीले कृषिमा बढी लगानी गरेका छौ । गापाभित्र कृषि ऋण लिने व्यक्ति थोरै छन् । संघीय सककारले विनाधितो ऋण दिने भन्यो तर, जनताले झन् दुख पाए । लाजपुर्जा लिएर बैंक जादा पनि ऋण पाएका छैनन् । किसानलाई व्यवसायीक बनाउनको लागि सहुलियत कर्जाको सुरु गरेका हौ ।’ उनले वित्तिय संस्थाको महंगो व्याजले कृषक मारमा परेकाले गापाले आफै अभियान चलाएको बताए । यो अभियानसंगै अव कृषक वैंक धाउनुपर्दैन । गापाले सातवटै वडाको माटो परीक्षण गरेको छ । कुन वडामा कुन खेती हुन्छ वडा कार्यालयसंग सहकार्य गरेर कृषकले खेती लगाउन सक्ने अध्यक्ष ओझाको भनाई छ । जनताले उत्पादन गरेको बस्तु बजारीकरण जिम्मा गापाले लिनेछ ।
यस गापामा विभिन्न ९ प्रोजेक्टले ७ करोड रुपैया कृषिमा लगानी गरेका छन् । गापाले किसानलाई निशुल्क प्राविधिक उपलब्ध गराइदिने जनाएको छ । पहिलो चरणमा प्रतिसमुहलाई २ करोड १० लाख रुपैया विनाधितो ऋण दिने अध्यक्ष ओझाले बताए । जलेश्वर कृषि सहकारी संस्थाका संयोजक पुष्पराज अधिकारीले लगानी गर्न नसकेकै कारण व्यवसाय बन्न नसकेका किसानलाई व्यवसायीक बन्न गापाले ठूलो अवसर दिएको बताए । भन्छन, ‘हाम्रो सहकारीको लक्ष्य पनि व्यवसायक किसान उत्पादन गर्ने हो । गापाले मद्दत ग¥र्यो । अव गरिब परिवार पनि व्यवसायीक किसान बन्नेछन् ।’ यो कार्यक्रम अत्यन्तै उत्तरदायी रहेको उनले बताए । यस सहकारीमा १८ जना सदस्य छन् । गापाले तलव दिने गरि सहकारीबाट उत्पादित दुध संकलनको लागि छुट्टै कर्मचारी राखेको छ । प्रतिलिटर ४८ रुपैयामा दुध विक्री भएको बताउदै अधिकारीले दैनिक ७० लिटरको हाराहारीमा दुध उत्पादन भएको बताए । सहकारीले धनी परिवारको लगानी आफै गर्न लगाउने र गरिव परिवारको लगानी गापाले गर्ने गरि काम गरेको बताएको छ । प्रतिव्यक्तिले १० ओटा पशु अट्नेगरि गोठ बनाउनुपर्ने सहकारीको प्रावधान छ ।
वैंकका कार्यकारी अधिकृत उमेशकुमार आचार्यले गाउँमा वित्तिय पहुँच पु¥याउने वैंकको अभियान अनुसार सहुलियत कर्जाको लागि गापासंग सम्झौता गरिएको बताए । उनले सरकारी वैंकको तुलनामा व्याजदर केही बढी भएपनि सेवामा कुनै कमी नहुने बताए । उद्यमशीलताको क्षेत्रमा नै काम गर्ने वैंकको लक्ष्य रहेको बताउदै उनले ८ करोड रुपैया लगानी गरिने बताए । ‘सरकारले दिएको अनुदान हो सरकारले नै अनुगमन गर्नेछ’ उनले भने, ‘कोरोनाले उद्यमशीलता बढाएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *