बालुवाटार उर्दी

गणतन्त्र हो यो गणतन्त्र

सक्छौ समृद्धिको कविता लेख

सक्दैनौ कलम भाँचेर डस्ट बिनमा मिल्काइदेऊ

तिमीलाई क्रान्तिकारी कविता लेख्ने छुट छैन कवि तिमीलाई छुट छैन

मजदुरका गीत लेख्न तिमीलाई अधिकार छैन मजदुरका फोटो खिच्न ।

खबरदार !

कोही नझर्लास् थानकोटबाट क्यामेरा बोकेर

मोटरसाइकलमा हुत्तिँदै गणतन्त्र हो यो

गणतन्त्र बयलगाडा चढेर ल्याएको गणतन्त्र

गणतन्त्रमा दुःखदर्दका कुरा लेख्न मनाही छ ।

मनाही छ सर्वहाराका सुस्केरा लेख्न।

होइन, को भोको देख्यौ ? को नाङ्गो देख्यौ ?

मेरो देशमा चराहरू पनि मस्त अघाएका छन्

अघाएका छन् मृग र बाघहरू पनि

अझै पनि लाज लाग्दैन तिमीहरूलाई

भोकको कविता लेख्न ?

ओ कविहरू !

कहीँ देखेका छौ खान नपाएर चराले आत्महत्या गरेको ?

अझै पनि केही नपाएर मेरो स्वतन्त्रता भन्दै कविता लेख्छौ ?

तिमीलाई नाङ्गै हिँड्न लाज लाग्दैन ?

ओ कविहरु !

म तिमीहरूलाई कविता लेख्न सिकाउँछु ओ पत्रकारहरू !

म तिमीहरूलाई समाचार लेख्न सिकाउँछु

सिकाउँछु फोटो खिच्न र कथा बनाउन आऊ

एकचोटि बालुवाटार आऊ थानका थान समृद्धिका कविता लिएर जाऊ

थानका थान सुशासनका कविता लिएर लिएर जाऊ

सुकिला फोटाहरू तिनै फोटाहरू राखेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को समाचार बनाऊ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *