चुनावी रंगमा रङ्गिदै स्याङ्जा

दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जा यतिबेला चुनावी माहोलले रङ्गिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा यहाँ चुनावी सरगर्मी चुलिएको छ ।

चिया पसल, चौतारो, खेतबारीदेखि सामाजिक सञ्जालसम्म मतदाता उम्मेदवार र दलका एजेन्डामाथि खुलेर बहस गरिरहेका छा् । नयाँ विकल्प खोजिरहेका स्याङ्जाबासी पुराना दलप्रति असन्तुष्ट देखिन्छन् । यही कारण पुराना दलहरूले पनि नयाँ अनुहार प्रस्तुत गरेका छन् ।
अघिल्ला निर्वाचनमा स्याङ्जाको मतपरिणामले राष्ट्रिय राजनीतिमा सन्देश दिएको इतिहास छ । यसपटक पनि दलहरूले विशेष महत्व दिँदै संगठन सुदृढीकरण र घरदैलो अभियानलाई तीव्र बनाएका छन् । जनता पहिलेजस्तो नरहेको बताउँछन् पुतलीबजार नगरपालिका–४ का कमल सुनार ।

ग्रामीण क्षेत्रमा विकास, रोजगारी, शिक्षा र स्वास्थ्य मुख्य चुनावी मुद्दा बनेका छन् । वैदेशिक रोजगारीमा गएका युवाको समस्या, कृषि उत्पादनको बजार व्यवस्थापन, सडक र खानेपानीमा मतदाताको चासो छ । ‘अब भाषणभन्दा काम चाहियो’ कमल सुनार भन्छन्, ‘हामीलाई आश्वासन धेरै दिइयो । हामी आशैआशले दासजस्ता भयौ । अव जानाजान दास हुन चाहान्नौ ।’ उनले २०६४ मा तत्कालीन माओवादी जस्तै नयाँ परिवर्तन चाहेको सुनाए । युवा मतदाताको भूमिका यसपटक निर्णायक हुने आँकलन गरिएको छ । सामाजिक सञ्जालमार्फत उम्मेदवारको गतिविधि नियाल्ने, विगतको कामको मूल्यांकन गर्ने र प्रश्न उठाउने प्रवृति बढ्दो छ । यसले उम्मेदवारहरुलाई अझ जिम्मेवार र पारदर्शी बन्न दबाब सिर्जना गरेको छ ।

जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ भने सुरक्षाका लागि पनि चासोका साथ व्यवस्था मिलाइँदैछ । प्रमुख जिल्ला अधिकारी इश्वरी अर्यालको नेतृत्वमा जिल्ला सुरक्षा प्रमुखहरु मतदानस्थल अनुगमन गरेका छन् ।
स्याङ्जाका मतदाताले यतिबेला विकाससँगै युवा र वैदेशिक रोजगारीको मुद्दालाई प्राथमिकतामा राखेका छन् । स्याङ्जामा ठूलो संख्यामा युवा वैदेशिक रोजगारीमा छन् । रेमिट्यान्सले घरघरको अर्थतन्त्र चलाए पनि गाउँ रित्तिँदो छ ।

‘गाउँमा बस्ने वातावरण बनेन भने भोटको अर्थ छैन’ पुतलीबजार नगरपालिका–५ का बोधराज रेग्मी भन्छन्, ‘रोजगारी सिर्जना, सीपमूलक तालिम र कृषि आधुनिकीकरणबारे उम्मेदवारहरू कति स्पष्ट छन् भन्ने प्रश्न मतदाताले गम्भीरतापूर्वक सोधिरहेका छन् ।’

यसो त, सामाजिक सञ्जालले स्याङ्जाको चुनावी राजनीतिलाई नयाँ आयाम दिएको छ । उम्मेदवारका पुराना अभिव्यक्ति, संसदमा उपस्थिति र विकास बजेटको प्रयोग सार्वजनिक बहसमा छन् । यसले भावनात्मकभन्दा तथ्यमा आधारित मतदानतर्फ मतदातालाई उन्मुख गराएको छ । बारम्बार दोहोरिएका आश्वासन र अपेक्षित परिणाम नआउँदा मतदातामा निराशा देखिएको बताउँछन् स्थानीयबासी । यसकारण पनि केही मतदातामा वैकल्पिक शक्ति र स्वतन्त्र उम्मेदवारप्रति आकर्षण बढेको बताउँछन् सदरमुकाम निवासी अशोक श्रेष्ठ ।

लामोसमयसम्म वैदेशिक रोजगारीमा रहेका अशोकले परम्परागत दलका लागि यो विश्वास पुनःस्थापना गर्ने अन्तिम मौका जस्तै बनेको बताए । स्याङ्जाको मतपरिणामले केवल एक सांसद चयन गर्ने मात्र होइन, राजनीतिक दलहरूको कार्यशैली, नेतृत्व चयन र नीति निर्माणमा समेत प्रभाव पार्नेछ ।

स्याङ्जामा मुख्य प्रतिस्पर्धीकोरुपमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी नै हुन् । युवाको जनलहर रास्वपामा देखिएको छ भने, यसपटक ठूला भनिएका काँग्रेस, एमालेलाई पनि चुनावी मैदान त्यति सहज छैन् ।

कृषि र अर्थतन्त्रका योजना अगाडि सारेका ठूला दललाई युवापुस्ता आजसम्म भएका कार्यको परिणाम खोजेका छन् ।
स्याङ्जा क्षेत्र नम्बर १ मा काँग्रेसबाट बैंकर भरतराज ढकाल चुनावी मैदानमा उत्रिएका छन् भने, एमालेबाट मीनप्रसाद गुरुङ, नेकपाबाट शैलेन्द्र घिमिरे र रास्वपाबाट पर्यटनविद् धनञ्जय रेग्मी उम्मेदवार बनेका छन् ।

यसैगरी क्षेत्र नम्बर दुईमा काँग्रेसबाट भागवत प्रकाश मल्ल, एमालेको तर्फबाट कालीगण्डकी गाउँपालिकाका पूर्वअध्यक्ष खीमबहादुर थापा, नेकपाबाट रेशम विश्वकर्मा र रास्वपाबाट झविलाल डुम्रे चुनावी मैदानमा छन् । चुनावमा अन्य साना दल र स्वतन्त्र उम्मेदवारी परे पनि मुख्य प्रतिस्पर्धा भने ठूला दलबीच नै रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *