गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूले सम्पादन गरेका कार्यको मूल्यांकनका आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापालाई २०८२ माघ महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month) घोषणा गरिएको छ । उनलाई नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
डीएसपी थापाको नेतृत्वमा म्याग्दी जिल्लामा भएका विभिन्न गम्भीर प्रकृतिका घटनाहरूको सफल अनुसन्धान गरिएको थियो । मिति २०८२ माघ ३ गते धौलागिरी गाउँपालिकामा भएको कर्तव्य ज्यान सम्बन्धी घटना, २०८२ माघ १५ गते रघुगंगा गाउँपालिका-३ स्थित निर्माणाधीन राहुघाट हाइड्रोपावर आयोजनामा भएको कर्तव्य ज्यान तथा चोरी सम्बन्धी घटना, अवैध हातहतियार बरामद, २०८२ माघ २५ गते मालिका गाउँपालिकामा भएको कुटपिट घटनालगायतका मुद्दाहरूको प्रभावकारी अनुसन्धान र कानुनी कारबाही सम्पन्न गरिएको थियो । त्यसैगरी चेक अनादर तथा अभद्र व्यवहार मुद्दाका फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सफल हुनुका साथै जिल्लामा शान्ति–सुरक्षा सुदृढीकरण, प्रहरी कर्मचारीको उत्प्रेरणा अभिवृद्धि, सुरक्षाका लागि सीसीटिभी जडान विस्तार तथा प्रहरी कार्यालयका लागि जग्गा प्राप्तिमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको मूल्यांकनका आधारमा उनलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
प्रहरी संगठनभित्र कर्तव्यनिष्ठ, जिम्मेवार र परिणाममुखी कार्यसम्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक महिना उत्कृष्ट प्रहरी छनोट गर्ने गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


