खरिपाटीमा १८३ अधिकृत क्याडेट पास आउट, प्रधानमन्त्री शाहद्वारा राष्ट्रसेवामा समर्पित हुन आग्रह

भक्तपुर, खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहमा १८३ जना क्याडेटहरू सफलतापूर्वक उत्तीर्ण भएका छन् । करिब ३६ महिनाको कठोर प्रशिक्षण पूरा गरेका उनीहरूलाई प्रधानमन्त्री वालेन्द्र शाहले बधाई तथा शुभकामना व्यक्त गरे ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेल । उनले मातृभूमि र जनताप्रति पूर्ण समर्पणका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिँदै सैनिक आचरण, ‘चेन अफ कमान्ड’ र अनुशासनलाई सधैं प्राथमिकतामा राख्नुपर्ने बताए ।

प्रधानमन्त्री शाहले फरक–फरक सामाजिक पृष्ठभूमिबाट आएका जवानहरूको नेतृत्व गर्दै एकीकृत र सक्षम टोली निर्माण गर्न नवअधिकृतहरू सफल हुने विश्वास व्यक्त गरे ।
उक्त अवसरमा उत्कृष्ट अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी तथा छडी प्रदान गरी सम्मान गरिएको थियो । प्रधानमन्त्री शाहको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा क्याडेटहरूले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *