बागमती किनारका जोखिमपूर्ण बस्ती हटाउने अभियान तीव्र, बल्खु र वंशीघाटमा ६८६ संरचना हटाइँदै

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले बागमती नदी र त्यसका सहायक नदी किनारमा रहेका अत्यन्त जोखिमपूर्ण बस्ती हटाउने अभियानलाई तीव्र बनाएको छ । सोही अभियानअन्तर्गत आज शुक्रबार काठमाडौंका बल्खु र वंशीघाट क्षेत्रमा विशेष कार्य अघि बढाइएको छ ।

सम्बन्धित निकायबीचको समन्वयमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभियान सञ्चालन गरेको हो । आजको कार्ययोजनाअनुसार कुल ६८६ संरचना हटाउने लक्ष्य राखिएको छ, जसमा बल्खु क्षेत्रका ४८६ टहरा र वंशीघाटका २०० संरचना समावेश छन् । ती संरचनाहरू डोजर प्रयोग गरी खाली गराउन थालिएको छ ।

सरकारले बर्खायाममा आउने बाढी तथा डुबानबाट हुनसक्ने सम्भावित ठूलो मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न यो अभियानलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । नागरिकको जीउधनको सुरक्षालाई केन्द्रमा राख्दै जोखिमयुक्त क्षेत्र खाली गराउने कामलाई निरन्तरता दिइने बताइएको छ ।

यसपछिको योजनाअनुसार शङ्खमूललगायत अन्य माथिल्लो तटीय (अपस्ट्रिम) क्षेत्रमा रहेका संरचनाहरू पनि क्रमशः हटाइने सरकारको तयारी छ ।

यद्यपि, अन्य क्षेत्रमा रहेका सुकुम्बासीहरूको हकमा भने उनीहरूको वास्तविक पहिचान र सुरक्षित व्यवस्थापनको ठोस योजना तयार भएपछि मात्रै जग्गा खाली गर्ने प्रक्रिया अघि बढाइने सरकारको स्पष्टोक्ति छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई सुकुम्बासीका लागि सुरक्षित आवास, स्वास्थ्य तथा पोषणको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ ।

यसैबीच, सार्वजनिक जग्गा खाली गर्ने विषयमा फैलिएको त्रासलाई सम्बोधन गर्दै गृह मन्त्रालयले पनि स्पष्ट पार्दै बिना पूर्वतयारी र बिना सूचना कुनै पनि अतिक्रमण हटाउने कार्य नगरिने जनाएको छ। स्थानीय तहले ठोस योजना तयार गरी नागरिकलाई पूर्वसूचना दिएपछि मात्र आवश्यक सुरक्षासहित यस्तो अभियान सञ्चालन गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *