वडा अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ तीन दिनदेखि बेपत्ता, खोजीका लागि प्रहरीको अपिल

स्याङ्जाको पुतलीबजार नगरपालिका–३ का वडा अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ तीन दिनदेखि बेपत्ता भएपछि परिवार, स्थानीयवासी तथा प्रहरीले खोजी कार्य तीव्र बनाएका छन् ।

६८ वर्षीय श्रेष्ठ वैशाख ३० गतेदेखि सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । उनी घरबाट निस्किएपछि हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा नआएको बताइएको छ ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार श्रेष्ठको वर्ण गहुँगोरो रहेको छ भने उचाइ करिब ६ फिट रहेको छ । हराउँदा उनले सेतो चेक सर्ट, खैरो पाइन्ट, सेतो आस्कोट तथा ढाकाटोपी लगाएका थिए ।

प्रहरीका अनुसार श्रेष्ठ पुतलीबजार नगरपालिका–३ निवासी हुन् । उनी लामो समयदेखि स्थानीय राजनीतिमा सक्रिय रहँदै आएका व्यक्ति हुन् । वडा अध्यक्ष नै सम्पर्कविहीन भएपछि स्थानीय तहमा समेत चासो र चिन्ता बढेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उनको खोजीका लागि विभिन्न स्थानमा सूचना प्रवाह गर्नुका साथै सम्भावित क्षेत्रमा खोजतलास जारी राखेको जनाएको छ । प्रहरीका अनुसार हालसम्म उनीबारे कुनै आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन ।

प्रहरीले श्रेष्ठलाई कहींकतै देखेमा वा कुनै जानकारी प्राप्त भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा खबर गरिदिन सर्वसाधारणसँग आग्रह गरेको छ ।

जानकारी दिनका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सम्पर्क नम्बर ९८५६०२०१६९ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *