
शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहेकी बेलायती मन्त्री सीमा मल्होत्राबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–बेलायतबीचको लामो कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै शिक्षा तथा खेलकुद क्षेत्रमा रणनीतिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
समानता तथा इन्डो–प्यासिफिक मामिला हेर्ने बेलायती मन्त्री मल्होत्रा तीन दिने नेपाल भ्रमणका लागि शुक्रबार बिहान काठमाडौं आइपुगेकी हुन् ।
भेटका क्रममा दुई देशबीच शिक्षा क्षेत्रको विकासका लागि सञ्चालन भइरहेका साझेदारी कार्यक्रम, आगामी सहकार्यका सम्भावना तथा नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको ‘अटिजम स्कुल’ अवधारणाबारे विस्तृत छलफल भएको बताइएको छ ।
मन्त्री पोखरेलले शिक्षा क्षेत्र सुधारका लागि मन्त्रालयले अघि सारेका प्राथमिकता र कार्ययोजनाबारे जानकारी गराउँदै अटिजम भएका बालबालिकाका लागि गुणस्तरीय शिक्षा, उपयुक्त सिकाइ वातावरण तथा दक्ष जनशक्ति विकासमा बेलायत सरकारसँग प्राविधिक सहयोग र स्रोत व्यवस्थापनमा सहकार्य आवश्यक रहेको बताएका छन् ।
उनले शिक्षाको पुनर्संरचनामा ‘प्याराडाइम सिफ्ट’ आवश्यक रहेको उल्लेख गर्दै अपाङ्गता भएका तथा विशेष आवश्यकता भएका बालबालिकाका लागि विशिष्ट शिक्षण प्रणाली विकासमा सरकार प्रतिबद्ध रहेको धारणा राखेका छन् । साथै बजेटरी सपोर्ट, मौद्रिक सहयोग, विज्ञता आदानप्रदान तथा क्षमता विकासमा बेलायतको थप सहयोग अपेक्षित रहेको पनि उनले बताएका छन् ।
भेटमा बेलायती मन्त्री मल्होत्राले नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्ध, विकास साझेदारी र पारस्परिक हितका विषयमा चर्चा गर्दै आगामी दिनमा सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिएकी छन् ।
उनले बेलायत सरकारले शिक्षा क्षेत्रमा आधुनिक सुधारका कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै नेपालजस्ता मुलुकमा शिक्षा क्षेत्रमा थप लगानी र साझेदारी विस्तार गर्ने योजना रहेको जानकारी दिएकी छन् ।
मन्त्री मल्होत्राले नेपालको उच्च शिक्षामा बेलायती स्तरका गुणस्तरीय शैक्षिक कार्यक्रम सञ्चालनका लागि नेपाली विश्वविद्यालयहरूसँग सहकार्य गर्न बेलायत इच्छुक रहेको बताएकी छन् । साथै अन्तरदेशीय शिक्षा प्रणाली प्रवर्द्धनका लागि आवश्यक कानुनी प्रावधान परिमार्जन गर्दै सहकार्य विस्तार गर्न बेलायत सरकार तयार रहेको उनको भनाइ थियो ।


